10/05/2025, 11:20:16
आइतबार, असोज १९, २०८२

स्वदेशी घरबाट निस्केनन् विदेशीको बुकिङ रद्द


लेखनाथ, असोज १९ : दसैँको बेला पर्यटकीय नगरी पोखरा उत्सवमय हुन्थ्यो । फेवातालमा बोटिङ होस् कि तालमाथि प्याराग्लाइडिङ वा बेलुन उडान, आन्तरिक र बाह्य पर्यटक खचाखच हुन्थे । होटेल भरिभराउ हुन्थे । बडादसैँ पर्यटन क्षेत्रमा पनि बडै उत्सव बन्ने गरेको थियो । यसपालि त्यसो भएन, पोखरा सुनसान छ । भदौमा भएको जेन-जी आन्दोलनपछि पूर्वयोजना बनाएका नेपाली पनि चाडपर्वमा घुमफिरमा निस्केनन् । विदेशीका आधा जति बुकिङ रद्द भए । दसैँका बेला आएका केही नेपाली पर्यटक पनि मौसममा आएको बदलावका कारण घर फर्किइसकेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लयमा आउन लागेको पर्यटन क्षेत्र पछिल्लो घटनाक्रमपछि झन् मारमा परेको बताउनुहुन्छ । “यो बेला पोखरा नयाँ वर्षको सडक महोत्सव जस्तो हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “अहिले धेरै विदेशीको बुकिङ रद्द भएको छ । आन्तरिक पर्यटक पनि छैनन् ।

मौसमको अनुकूलता हेरेर फेरि पर्यटन क्षेत्रलाई पूर्ववत् रूपमा लैजानै पर्नेमा उहाँको जोड छ । अध्यक्ष आचार्य भन्नुहुन्छ, “मौसम हेरेर अघि बढ्ने भनेका छौँ । सकारात्मक सन्देश प्रवाह गरी फेरि तङ्ग्रिनै छ हामी ।” शुक्रबार र शनिबार पोखरामा पनि वर्षा भइरहेको छ । यसअघि मौसम खुलेको थियो । माछापुच्छ«ेको प्रतिविम्ब स्पष्ट फेवातालमा देखिने यो शरद मौसममा आन्तरिक र बाह्य पर्यटकले ढाकिने फेवाताल सुनसान छ । आन्दोलनका क्रममा पोखराका आधा दर्जन जति होटेलमा तोडफोड र आगजनी भयो । सबैजसो सरकारी कार्यालय जलाइए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी असुरक्षा र अनिश्चितताले पनि पर्यटन क्षेत्रलाई धक्का पुगेको बताउनुहुन्छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म विदेशी पर्यटकको मुख्य आगमन हुने याममा भएको आन्दोलनले कोभिडको घाउमा नुनचुक थपेको उहाँको भनाइ छ । “होटेलका बुकिङ त ८० प्रतिशत जति रद्द भए । अहिले पोखराका होटेलको अकुपेन्सी १० प्रतिशत होला,” पहारीले भन्नुभयो । सामान्य बेला यो मौसममा ७० देखि ८० प्रतिशत अकुपेन्सी हुन्थ्यो ।

होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी आन्दोलन र मौसमको गडबडीले अकल्पनीय क्षति भएको उल्लेख गर्नुहुन्छ । जेन-जी आन्दोलनले साढे दुई अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उहाँ त्यसपछिको प्रभाव भने आकलन गर्न कठिन हुने सुनाउनुहुन्छ । पोखराको पर्यटन क्षेत्रमा आठ खर्ब बराबरको लगानी रहेकोमा छ खर्ब होटेल व्यवसायमै रहेको सुवेदीको दाबी छ । पोखरामा पर्यटकीय स्तरका एक हजार दुई सय जति होटेल छन् । सरकारले पर्यटन प्रवर्धन र आर्थिक रूपमा व्यवसायमैत्री नीति नल्याए होटेल व्यवसायी पेसाबाटै पलायन हुने अवस्था आउने उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने पर्यटकीय सिजनको सँघारमा भएको आन्दोलनले नेपालको अवस्थाबारे नकारात्मक सन्देश प्रवाह भएकोमा त्यसलाई चिर्नुपर्नेमा जोड दिनुहुन्छ । सेप्टेम्बरका सबैजसो बुकिङ विदेशीले रद्द गरेको सुनाउँदै उहाँ त्यसपछिका बुकिङलाई कायम राख्न सकारात्मक सन्देश प्रवाह गर्नु जरुरी रहेको औँल्याउनुहुन्छ । “आन्दोलनका बेला कफ्र्यु लाग्यो, अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द भयो,” लामिछाने भन्नुहुन्छ, “त्यसले सुरक्षामा प्रश्न उठाएको छ । हामी नेपाल सुरक्षित छ भन्ने सन्देश दिने रणनीति बनाउँदै छौँ ।

पोखरा भ्रमण वर्ष २०२५ घोषणा भएकोमा त्यसको लक्ष्य पूरा गर्न पनि कठिन हुने देखिएको छ । भ्रमण वर्षलाई सफल बनाउन मूल समिति र उपसमिति बनाएर योजनाबद्ध काम गरिरहेको पोखरा महानगर आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि त्यसका गतिविधि पनि रोकिएका छन् । दसैँका बेला ग्रामीण क्षेत्रका मानिस घर फर्किंदा सुनसान हुने पोखरा चाडपर्वमा घुमफिर गर्ने नेपाली र सिजनमा आउने विदेशीसमेत नआएपछि सुनसान बनेको छ ।

– फडिन्द्र अधिकारी