स्याङ्जा, असोज १६ : अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालक किसानलाई मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने ‘पहाडे गाई पालन तथा संरक्षण कार्यक्रम’ मार्फत किसानलाई प्रति गाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको हो । सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको गाईको संख्या दिन प्रतिदिन घट्दै गएको अवस्थामा यसलाई संरक्षण गर्न गाउँपालिकाले यो योजनालाई अगाडि सारेको हो ।
प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले आवश्यक कागजातसहित आवेदन दिने किसान मध्ये छनोट भएकालाई मात्र रकम उपलब्ध गराइने बताउनुभयो । रित नपुगी पेश भएका निवेदनलाई छनोट प्रक्रियामा समावेश नगरिने अर्यालले बताउनुभयो ।
चालू आव २०८२-८३ मा नयाँ आवदेन दिन चाहने कृषकले नेपाली नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, जग्गा भाडामा लिएको भए कम्तिमा पाँच वर्षको सम्झौतापत्र, गोठसहित गाईधनी देखिने गरी खिचिएका फोटो, वडा कार्यालयको सिफारिस सहित निवेदन पेश गर्नुपर्नेछ ।
गाउँपालिका प्रमुख प्रकाश तिवारीले गाईपालनलाई आत्मनिर्भरता र आयआर्जनसँग जोड्ने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो । “गहुँत, गोबर, दुध तथा धार्मिक प्रयोजन सबैमा गाईको महत्व छ । त्यसैले पालिकाले गाईपालकलाई प्रोत्साहित गर्दै संरक्षणमा जोड दिएको हो,” तिवारीको भनाई थियो ।
पालिकाभित्र घाँस प्रशस्त उपलब्ध भएको र नेपालकै पहिलो नवग्रह मन्दिर पनि यहीँ भएकाले गाईपालनको महत्व अझ बढ्ने देखिएको छ । भैँसी र बाख्रा लगायतमा दिइँदै आएको प्रतिशतको आधारमा अनुदान प्रभावकारी नभएकाले गाईपालनमा प्रत्यक्ष प्रोत्साहन दिने विधि अपनाइएको तिवारीले बताउनुभयो ।
– अर्जुन काफ्ले
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















