10/01/2025, 12:08:49
बुधबार, असोज १५, २०८२

म्याग्दीको ऐतिहासिक ताकमकोत मन्दिरको पुनर्निर्माण


म्याग्दी, असोज १५ : म्याग्दीको धवलागिरि गाउँपालिका ७ मा रहेको ऐतिहासिक ताकमकोतको पुनर्निर्माण गरिएको छ ।

स्थानीयहरुले करिब एक करोड रुपियाँभन्दा बढी चन्दा सहयोगबाट जुटाएर ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण गरेका हुन । जगन्नाथ अन्नपूर्ण कोष तथा व्यवस्थापन समितिले धार्मिक र ऐतिहासिक महत्वको पर्यटकीय सम्भावनायुक्त ताकमकोतमा रहेको अन्नपूर्ण–जगन्नाथ मन्दिर पुनर्निर्माण गरेको हो ।

विसं १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा विसं १८८२ मा नेपाल एकीकरण हुनुअघि मल्ल राजाहरूले शासन गरेका थिए ।  सोह्रौ शताब्दीमा निर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिर विस. १९९० र २०७२ को भूकम्पले जिर्ण बनेपछि समुदायस्तरबाट आर्थिक सहयोग जुटाएर विसं २०७५ देखि पुनर्निर्माण थालिएको मन्दिर पुनरनिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो ।

उहाँका अनुसार पुनर्निर्माण गर्न एक करोड १९ लाख ३१ हजार आठसय ३३ रुपियाँ खर्च भएको छ । एक करोड १४ लाख पाँच हजार एकसय ३८ चन्दा संकलन भएको र पाँच लाख २६ हजार छसय ९५ अपुग भएको थापाले बताउनुभयो । पुरातत्व विभागको अनुमतिमा मन्दिरको पुरानो स्वरुप र ऐतिहाँसिक तथा धार्मिक पक्षमा असर नपर्ने गरेर मन्दिर पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । पाँच हजारभन्दा बढी सहयोग गर्नेहरुको नामावलीसहितको शिलालेखको स्तम्भ निर्माण गरिएको छ ।

मन्दिरको छेउमा तत्कालीन थापा तथा मल्ल राजाका पालाका हातहतियार भण्डारण गरिएको कोतघरको पनि पुनर्निर्माण गरिएको छ । यसैगरी पुरातत्व विभागको ५० लाख बजेटबाट ठेक्कामार्फत रामसिताको मन्दिर निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको तीन लाख ५० हजार बजेट र हाल अमेरिकामा रहनुभएका रघुनाथ सुवेदीको अगुवाइमा दाताको २४ लाख ४० हजार सहयोगमा १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकार र सहरी विकास मन्त्रालयको बजेटबाट सडकदेखि कोत परिसर पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ । म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको कोतमन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माले बताउनुभयो ।

जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मंसिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । तत्कालीन राजाले कोतघरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् ।

समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खला साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।

– ठाकुरप्रसाद आचार्य