09/26/2025, 13:06:16
शुक्रबार, असोज १०, २०८२

घर आँगनमा दसैँ, गाउँघर भरिँदै, मनाङ रित्तिँदै


मनाङ, असोज १० : देशभरिका सहरबाट जन्मथलोतिर दसैँ मनाउन जानेको लर्को लागिरहेका बेला मनाङ भने सुनसान बन्दै गएको छ । विगतमा यो समय पर्यटकले खचाखच हुने मनाङमा जेन-जी आन्दोलको प्रभाव पर्यटकमा पर्दा मनाङ सुनसान जस्तै बन्दै गएको हो ।

१० दिनअघिसम्म चामेमा रहेको तातोपानी कुण्डमा विदेशी पर्यटकको घुँइचो लागेको थियो । पर्यटकले बिस्तारै चामे छाड्दै गएपछि पछिल्ला दिनमा त्यो क्षेत्र पनि सुनसान हुँदै गएको छ । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले भन्नुभयो, “गत हप्ता यहाँ पर्यटक खचाखच भए जस्तो लाग्थ्यो; अहिले त स्वेदशी, विदेशी पर्यटक कोही पनि भेटिँदैनन् ।” उहाँले भन्नुभयो, “केही दिनअघिसम्म साँझपख तातोपानी कुण्डमा नुहाउने विदेशी पर्यटक टन्नै भेटिन्थे तर दुई दिनयता शून्य देखेको छु ।” प्रजिअ पौड्याल पर्यटक शून्य हुनुमा जेन-जी आन्दोलन र सडक सञ्जाल नै प्रमुख कारण भएको बताउनुहुन्छ ।

विशेष गरी मनाङ भित्रिने लमजुङ खण्डको बाटो हिलाम्मे हुनु र स्थलमार्गबाट काठमाडौँदेखि बेँसीसहर हुँदै मनाङ आउने पर्यटकलाई ठाउँ ठाउँमा पहिरोले गरेको अवरोध नै मुख्य कारण बनेको छ । चितवनमा गएको पहिरो र यातायात सञ्चालनमा परेको कठिनाइले गर्दा पनि मनाङ सुनसान बन्दै गएको छ ।

थोरै जनसङ्ख्या भएको मनाङमा आन्तरिक पर्यटक पनि यस पटक नआएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । चाडपर्वमा घुम्ने आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेन-जी आन्दोलनको असरले गर्दा आउन नसकेको उहाँले बताउनुभयो । विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने मनाङका होटेल यसपालि पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताउनुभयो ।

जेन-जी आन्दोलनको असर र दुई दिनमा उल्टिएको सत्ताले गर्दा विदेशी पर्यटक एकै चोटि ह्वात्तै घटेको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको तर्क छ । अध्यक्ष गुरुङले भन्नुभयो, “सुनसान छ मनाङ अचेल । पर्यटक भित्रिने मुख्य प्रवेशद्वारका रूपमा मेरै गाउँपालिका पर्छ । गत वर्ष यति बेला बाटो हिँड्न पनि मुस्किल पथ्र्यो । अहिले विदेशी पर्यटक देख्न नपाएको हप्ता दिन भइसक्यो ।

जिल्लामा भएका कर्मचारी पनि कार्यालय सहयोगीलाई कार्यालय कुर्ने जिम्मेवारी दिँदै दसैँ बिदामा घर फर्किसकेका छन् । यसले गर्दा मनाङ झनै सुनसान हुँदै गएको छ । कर्मचारी मात्रै नभई ९० प्रतिशत मनाङवासीको काठमाडौँ, पोखरा, चितवनलगायतका सहरमा घर तथा व्यापार व्यवसाय छ । उनीहरूका बालबच्चा सहरमा अध्ययन गर्छन् । जनप्रतिनिधि तथा व्यवसायी आफ्नो परिवारसँग बसेर चाडपर्व मान्न सहर छिर्छन् । यसले गर्दा पनि गाउँ सुनसान हुँदै गएको छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आफू पनि परिवारका साथ चाडपर्व मान्न काठमाडौँतिर लागेको बताउनुभयो । अध्यक्ष लामाले पनि जेन-जी आन्दोलनले गर्दा मनाङको पर्यटनमा असर परेको बताउनुभयो ।

– यदुप्रसाद भट्ट