बागलुङ, असोज ९ : पश्चिम बागलुङको गलकोट नगरपालिकास्थित कोतघर पुननिर्माण गरिएको छ । घटस्थापनादेखि कोतघरमा चहलपहल सुरु भएको छ । चौबिसेमध्येको गलकोट राज्यको केन्द्र रहेको कोतघरमा फूलपातीदेखि भक्तजन र पर्यटकको घुइँचो लाग्नेगर्छ ।
झण्डै दुईसय वर्ष पुरानो कोतघर पुनःनिर्माण गरेपछि धार्मिक गन्तव्यको रुपमा पनि विकास भइरहेको छ । कोतघरमा ऐतिहासिक दस्तावेजको संरक्षण गर्ने, पर्यटक भित्र्याउने र साँस्कृतिक महत्वलाई निरन्तरता दिनेगरी पुनःनिर्माण गरिएको थियो । नेपाली सेना र गलकोट नगरपालिकाको अगुवाईमा कोतघर पुनःनिर्माण गरिएको हो ।
गलकोट नगरको अधिकांश क्षेत्र देखिने कोतघर परिसरमा रहेको कालिका मन्दिर मर्मत गरिएको छ । यहाँ अजङ्गका दुई खुँडा र दुई खुकुरी छन् । नगरपालिकाले कोतघर पुग्ने सिंढीमार्ग पनि बनाएको छ । रेलिङसहितको मार्गले आकर्षक देखिन्छ । पुनःनिर्माण अभियानमा स्थानीय युवाले चासो दिएका छन् । वडा कार्यालयले कोतघर संरक्षणलाई गौरवको योजनामा समावेश गरेको छ भने नगरपालिकाले पनि यसको अस्तित्वसँग जोडिएकाले लगानी गरेर मर्मत गरेको हो ।
कोतघर पुग्ने सडक स्तरीय बनाउन सहरी विकास आयोजना मार्फत कालोपत्रे गरिंदैछ । चालु वर्षभित्रै उक्त सडक कालोपत्रे हुने बागेश्वरी निर्माण सेवाका साइट इन्चार्ज सन्तोष तामाङले बताउनुभयो । बाँकी खण्ड व्यवस्थित बनाउन नगर र अन्य निकायको समन्वय भइरहेको वडा अध्यक्ष फमबहादुर खत्रीले बताउनुभयो ।
यसअघि गण्डकी प्रदेश सरकार र नगरको साझेदारीमा ५० लाख खर्चेर सडक मर्मत भइसकेको छ । नगरपालिकाको २० लाख, सेनाको श्रमदान र अन्य लगानी गरी १५ लाख बराबरको लगानीमा कोतघरको संरक्षण गरिएको छ । त्यसबाहेक सिंढी निर्माणमा नगरको १० लाख रुपियाँ खर्च भएको हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट १० लाख रुपियाँले सिंढी र अन्य संरचना निर्माणमा खर्च गरिएको छ ।
गलकोटका पहिलो राजा जितेन्द्रदेव मल्लले यो कोतघर बनाएको इतिहास छ । नेपाल एकीकरण पूर्व विसं १८४४ सम्म यो राज्य स्वतन्त्र थियो । २०१७ सम्म गलकोट रजौटाको रुपमा चिनियो । २०१९ सम्म सदरमुकामको रुपमा गलकोटमा प्रशासनिक इकाइको रुपमा थियो । प्राचीन समयदेखि नेपाल एकीकरण पूर्व (वि.स.१८४४) को अवधिसम्म स्वतन्त्र राज्यका नामले परिचित थियो ।
– रामकृष्ण बोहरा