09/23/2025, 12:22:51
मङ्गलबार, असोज ०७, २०८२

कर्णाली कोरिडोर दसैँअगाडि नै मर्मत गरिने


हुम्ला, असोज ७ : कर्णाली कोरिडोरको हुम्ला खण्ड दसैँको फूलपातीअगाडि नै मर्मत गरिने भएको छ । दसैँका बेला यातायातका साधन निर्वाध रूपमा सञ्चालन गर्न यो खण्डमा रहेका खाल्टाखुल्टी परेका र पहिरोले भत्काएका सडक मर्मत गर्न लागिएको हो ।

दसैँको समयमा जिल्लावासीले सहज रूपमा यात्रा गर्न कर्णाली कोरिडोरको हुम्ला खण्डको कवाडीदेखि हिल्सासम्मको १८६ किलोमिटर सडकलाई एक्साभेटर लगाएर मर्मत गरिने प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो । सडकको धेरै भाग वर्षाले खाल्टाखुल्टी बनाएको छ  । बर्सातको समयमा ठाउँ ठाउँमा पहिरो आई सडकमा क्षति पुगेको, हिलो तथा धुलोमा यातायातका साधन फस्ने, चिप्लने, खाल्डामा सवारीसाधन दुर्घटनासमेत हुने गरेका छन् । दसैँमा यातायातका साधनको चाप बढ्ने र यात्रु पनि दसैँ मनाउन जिल्ला भित्रिने भएकाले सडक मर्मत गरेर सहज रूपमा यातायातका साधन सञ्चालन गर्न सडक मर्मत आवश्यक रहेको उहाँले बताउनुभयो ।

हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले आफ्नो क्षेत्रमा पर्ने सलीसल्लादेखि हिल्सासम्मको १४६ किलोमिटर सडकको मर्मत सुरु गरिने बताउनुभयो । सबैभन्दा बढी खाल्टाखुल्टी भएको सर्केगाडदेखि बोक्चे गाैँडाको सडक मर्मत गर्नुपर्ने बताउँदै उहाँले एक्साभेटर लगाएर सडकमा परेका खाल्डा पुर्ने, सम्याउने र कतै पहिरो पन्छाउने काम सँगै गरिने जानकारी दिनुभयो । मेसिन लगाएर सडक मर्मत गर्न चारदेखि पाँच दिन लाग्ने बताउँदै उहाँले योजनाको मेसिन पनि प्रयोग गरिने बताउनुभएको छ ।

सिमकोट–हिल्सा सडक भने त्यति धेरै मर्मत गर्ने अवस्था नरहेको र आवश्यक परेका स्थानमा भने मर्मत गरिने छ । यी सडकमा परेका खाल्टाखुल्टीले गर्दा सिमकोटबाट सुर्खेत पुग्न यातायातका साधनले तीन दिनसम्म समय लगाउने गरेका छन् । सलीसल्लादेखि कवाडीसम्मको सडकको मर्मत गर्ने कार्य खुलालु–सलीसल्ला सडक योजना बाजुरा कोल्टीले गर्ने छ । त्यसका लागि सडक योजनालाई जिल्ला प्रशासन कार्यालयले पत्राचारसमेत गरिसकेको छ । यो खण्डको खच्चा, बालुकुना पैमामा सडक बढी मर्मत गर्नुपर्ने छ ।