मुक्तिनाथ (मुस्ताङ), असोज ५ : सोह्रश्राद्धको अन्तिम दिन औँशी तिथिमा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहानैदेखि भिड लागेको छ । जेनजी आन्दोलन र बेनी–जोमसोम–कोरला सडकखण्डमा खसेको पहिरोका कारण सोह्रश्राद्धका अन्य दिनमा सुनसान रहेको कागबेनीमा अन्तिम दिन करिब एक हजारभन्दा बढीले कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गरेको मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्राम गुरू प्रताप आचार्यले जानकारी दिनुभयो ।
आचार्यले भन्नुभयो, ‘‘दशैँअघि सोह्रश्राद्धको औँशी तिथि पारेर कागबेनीमा पिण्डदान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ, नेपालका साथै छिमेकी भारतबाट समेत हिन्दु धर्मालम्बीहरू कागबेनीमा आउनुभएको छ ।’’ शालग्राम शिलाको उद्घमस्थल दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर श्राद्ध, तर्पण, स्नान र भोजन गर्नाले मोक्ष प्राप्त हुने पद्यपुराण र बाह्रपुराणलगायतका ग्रन्थमा उल्लेख रहेको आश्रमका आचार्यको भनाई छ ।

परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ ।

भक्तजनको आगामनले कागबेनी, मुक्तिनाथ र जोमसोमका होटलहरूमा समेत चहलपहल छ । वडा अध्यक्ष अध्यक्ष कर्म घ्यचो गुरुङले सोह्रश्राद्धमा आउने भक्तजनलाई सहज हुने गरी जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरी तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर प्रहरीले समेत सुरक्षा ब्यवस्था कडा बनाइएको बताउनुभयो । बडादशैँ औँशी तिथिमा कागबेनीमा पुग्न नसक्नेहरू चैतै दशैँ औँशीमा पुग्ने र अन्य समयमा समेत दिवङ्गत पितृको सम्झनामा तर्पण दिने गरिन्छ । मुस्ताङको कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिरको दर्शनका लागि नेपालीपछि सबैभन्दा धेरै हिन्दु धर्मालम्बीहरू भारतीय जाने गरेका छन् ।
– हरिकृष्ण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















