09/13/2025, 19:58:38
शनिबार, भदौ २८, २०८२

पाकिस्तानको पन्जाबमा बाढीः ९७ जनाको मृत्यु, ४४ लाखभन्दा बढी प्रभावित


इस्लामावाद, भदौ २८ : पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाले ज्यान गुमाएका छन् भने ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)का अनुसार, रावी, सतलज र चेनाब नदीमा आएको बाढीले पन्जाबभरि चार हजार ५०० भन्दा बढी गाउँमा क्षति पुर्‍याएको छ । बाढीबाट विस्थापित भएकामध्ये २४ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा हालसम्म ३९६ वटा राहत शिविर स्थापना गरिएका छन्, जहाँ पीडितहरूलाई आश्रय, खाना तथा औषधोपचार सेवा उपलब्ध गराइँदै छ । पिडिएमएले करिब १९ लाख गाईबस्तुलाई पनि सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

देशभरको सरकारी विवरणअनुसार, जुन २६ देखि सुरु भएको मौसमी वर्षा र बाढीले हालसम्म ९५६ जनाको ज्यान लिइसकेको छ, भने एक हजार ६० भन्दा बढी नागरिक घाइते भएका छन् । यस बाढीका कारण करिब आठ हजार ४०० घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्, र ६ हजार ५०० भन्दा बढी गाईबस्तु नष्ट भएका छन् ।

सरकारले विस्थापित समुदायहरूलाई राहत प्रदान गर्न र थप क्षति रोक्न उद्दार तथा सहायता अभियानलाई तीव्र बनाएको जनाएको छ । बाढीग्रस्त क्षेत्रमा सेना, प्रहरी र स्थानीय निकायको सहकार्यमा राहत तथा पुर्नस्थापना कार्य जारी रहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..