मकवानपुर, भदौ १८ : बागमती प्रदेशको यही आइतबारबाट सुरु भएको प्रदेश सभाको बैठक प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको चलचित्रसम्बन्धी विधेयकलाई टुङ्गो लगाउने गरी बोलाइएको थियो तर चलचित्रसम्बन्धी विधेयक प्रदेश सभामा छलफलका लागि नै ल्याइएन । उता विवादित बन्दै आएको चिट्ठासम्बन्धी विधेयक पारित गर्ने सरकारले तयारी गरे पनि एकाएक पछाडि हटेको छ ।
चिट्ठासम्बन्धी विधेयकमाथि छलफल गर्ने गरी कार्यसूचीमा राखिएकोमा प्रदेश सभामा दफावार छलफलका लागि विभागीय मन्त्रीले पेस गर्नुपूर्व नै विशेष समयमा सत्तारूढ दल नेकपा एमालेका प्रदेश सभा सदस्यले विधेयकको विरोध गरेका थिए ।
एमाले प्रदेश सभा सदस्यले विशेष समयमा बोल्दै चिट्ठा विधेयक अहिले ल्याउनुको औचित्य नभएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका थिए । एमाले प्रदेश सभा सदस्यको विरोध र असन्तुष्टिपछि चिट्ठा विधेयकमाथि मङ्गलबार छलफल गर्ने गरी कार्यसूची बनाइए पनि एकाएक कार्यसूचीबाट हटाइएको हो ।
यसअघि सोमबार बैठक स्थगित गर्नुपूर्व बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले चिट्ठा विधेयकमाथि बोल्ने क्रम बाँकी रहेको र मङ्गलबार छलफल हुने जानकारी गराउनुभएको थियो । सरकारले मङ्गलबार नै चिट्ठा विधेयकमाथि बाँकी प्रदेश सभा सदस्यले बोल्ने व्रmम सकिएपछि निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो । एमाले प्रदेश सभा सदस्यले जनसरोकारका सवालका कानुन बनाउनभन्दा चिट्ठा विधेयक ल्याएकाप्रति असन्तुष्टि जनाउँदै जे पनि हुन सक्ने चेतावनीपछि सरकार तत्कालका लागि पछाडि हटेर मङ्गलबारको कार्यसूचीबाट हटाइयो ।
चिट्ठा विधेयकप्रति नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सकारात्मक भए पनि एमाले सुरुदेखि नै विपक्षमा रहँदै आएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसद ढकाल सत्तारूढ दलभित्रै कुरा नमिल्दा सरकार पछाडि हटेको हुन सक्ने बताउनुहुन्छ । मङ्गलबार छलफल गर्ने कार्यसूची थियो, एकाएक हटाइए छ, प्रमुख सचेतक ढकालले भन्नुभयो, “कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल त भएको होइन तर सभामुखले अनौपचारिक रूपमा कार्यसूचीबाट हटाएको जानकारी गराउनुभयो ।”
प्रदेश सभाका सचिव रामकुमार पौडेलले चलचित्रसम्बन्धी विधेयक र चिट्ठासम्बन्धी विधेयक एकै पटक छलफल गरेर पारित गर्ने तयारी गरिएकाले अहिले कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो । कांग्रेसका मुख्य सचेतक पुकार महर्जनले चलचित्र र चिट्ठासम्बन्धी दुवै विधेयक एकै पटक पारित गर्ने तयारी रहेको भन्दै चिट्ठा विधेयकमा एमालेको पहिलेदेखि नै असहमति रहेको बताउनुभयो । उहाँले समितिमा दफावार छलफल भएर आएकाले अब प्रदेश सभाबाट पारित नगर्ने भन्ने नहुने जानकारी दिनुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा प्रदेश मामिला समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयकमाथि दफावार छलफलका लागि सोमबारको बैठकमा पेस गर्नुभएको थियो । प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० वैशाख १२ गते प्रदेश सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएकोमा तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले विधेयकमा त्रुटि रहेको भन्दै सन्देशसहित २०८० जेठ ७ गते प्रदेश सभामा फिर्ता पठाउनुभएको थियो ।
विधेयकमाथिको सोमबार छलफलमा सहभागी हुँदै प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले बहुचर्चित बनेको चिट्ठा विधेयक पारित गर्न मनले नमाने पनि बाध्यता रहेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश प्रमुखले पठाउनुभएका टिप्पणीलाई प्रतिवेदनमा गम्भीरता अनुसार नसमेटिएको भन्दै कतिपय कुरा सुधार भए पनि विधेयकमा थप मेहनत आवश्यक भएको बताउनुभयो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
समिति हेरफेर र मनोनयन प्रस्ताव अनुमोदन
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले विभिन्न समितिमा सदस्य हेरफेर तथा नयाँ मनोनयनको प्रस्ताव प्रस्तुत गर्दै सभाले अनुमोदन गरेको घोषणा गर्नुभएको छ । मङ्गलबार बिहान बसेको प्रदेश सभा बैठकमा सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिमा रहेका माननीय गोविन्द लम्साल, गीता गुरुङ, रामकृष्ण चित्रकार र सविता खड्कीको स्थानमा छिरिङदोर्जे लामा, पुकार महर्जन, मीनकृष्ण महर्जन र शान्ता ढकाललाई राख्ने प्रस्ताव गर्नुभएको थियो । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
त्यस्तै प्रदेश सभा नियमावली २०७४ को नियम (१५०) बमोजिम प्रदेश मामिला समितिमा बहादुरसिंह लामा तामाङ, सुरचन्द्र लामिछाने, कुन्दनराज काफ्ले र मधुकुमार श्रेष्ठलाई मनोनयन गरिएको छ । सार्वजनिक लेखा समितिमा मीनकृष्ण महर्जन र श्यामकुमार खड्का, शिक्षा स्वास्थ्य तथा कृषि समितिमा हरिप्रभा खड्कीलाई मनोनयन गरिएको छ । यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिमा विमल ठकुरीलाई मनोनयन गरिएको छ । यी सबै प्रस्तावलाई प्रदेश सभा बैठकले अनुमोदन गरेको हो । यस्तै बैठकमा शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरू ओमकुमारी श्रेष्ठ, ईश्वर सापकोटा, नुरज वज्राचार्य, प्रेमभक्त महर्जन, मधुकुमार श्रेष्ठ, यमुनादेवी श्रेष्ठ र शान्ता ढकाल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।