हुम्ला, भदौ ११ : कर्णाली कोरिडोरको हुम्ला खण्डको खार्पुनाथ गाउँपालिका–१ को भिगौडाको चट्टानी भिर छिचोलिएको छ । बोक्चेगौँडा, याङ्चुकनासहित भिगौडाको चट्टानी भिरको सडकलाई स्तरोन्नति गर्ने कार्यको जिम्मा पाए अनुसार नेपाली सेनाले सो भिरलाई सडकमा परिणत गरेको छ ।
खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष जयबहादुर शाहीले भिगौडाको असजिलो र चट्टानी भिरलाई विस्फोट गरेर सडकमा परिणत गरिएको बताउनुभयो । पहिले हिल्सा–सिमकोट सडक योजनाले निर्माण व्यवसायीमार्फत भिरको सडकका लेभल नमिलाएका कारण हुम्लावासीको माग अनुसार सरकारले उक्त भिरलगायतका तीन स्थानको स्तरोन्नति गर्ने कार्य सेनालाई दिएको थियो । सेनाले हुम्ला खण्डमा पर्ने कर्णाली कोरिडोरको सबैभन्दा असजिलो क्षेत्रमा पर्ने सडकमा भिगौडाको चट्टानलाई छिचोलेर सडकमा परिणत गर्न सफल भएको उहाँले बताउनुभयो ।
यसअघि सो भिर पार गर्न दुई वटा मोडमा यातायातका साधन गुड्नुपर्ने भए पनि हाल भने सिधै चट्टानी भिरमा पार गर्ने गरी सेनाले सडक निर्माण गरेको छ । भिगौडाको चट्टानी भिरलाई विस्फोट गरेर सिधा सडकमा परिणत गर्ने कार्य गरेका नेपाली सेनाको विकास निर्माण दलका सेनानी अमृत पराजुलीले छोटो अवधिमै उक्त भिरमा यसअघि रहेको सडकको स्तरोन्नति गर्न सफल भएको बताउनुभयो । ३० मिटर अग्लो चट्टानलाई विस्फोट गरेर तल झारिएको छ । सो क्षेत्रको ६० मिटर सडकलाई बक्स कटिङ गरेर सडक निर्माण गरिएको छ ।
भिगौडामा सडक निर्माण गर्न जति कठिन भए पनि अब भने दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सहज भएको उहाँले बताउनुभयो । भिगौडाको चट्टानी भिरको सडक सात मिटर चौडा रहेको छ । हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ । योसँगै सेनाले ७० मिटर लामो बोक्चेगौँडाको चट्टानी सडक पनि स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको थियो । बोक्चेगौँडादेखि याङ्चुकुनासम्मको आठ सय मिटर सडकको स्तरोन्नति भइसकेको छ । गत चैत २५ गते उक्त भिरको सडकको स्तरोन्नति गर्ने काम सुरु भएको थियो ।