हुम्ला, भदौ २ : सिमकोट विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था यस आर्थिक वर्षमा गरिएको छ । नेपाल नागरिक उड्डयान प्राधिकरणको प्रधान कार्यालय काठमाडौँले विमानस्थल विस्तारका लागि बजेटको व्यवस्था गरी अख्तियारी प्राधिकरणको सिमकोट शाखालाई पठाएपछि विमानस्थल विस्तार र जग्गा व्यवस्थाको कार्य अगाडि बढाउने बाटो खुलेको हो ।
लामो समयदेखि बजेटको अभावका कारण रोकिएको सिमकोट विमानस्थलको धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य अब सुरु हुने कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो । उहाँले निक्कै लामो प्रयासपछि नेपाल नागरिक उड्ययान प्राधिकरणको प्रधान कार्यालयले बजेटको व्यवस्था गरेकोमा धन्यवाद दिँदै अब काम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
साउन ३० गते पठाइएको पत्रानुसार यो कामका लागि आवश्यक बजेट २७ करोड ९४ लाख रुपियाँ विनियोजित गरी धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य अघि बढाउन आदेश आएको सिमकोट नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । विमानस्थल विस्तारका लागि ६० दशमलव ८१ रोपनी जग्गा आवश्यक पर्नेछ । विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गाको मूल्य जिल्ला दररेट अनुसार प्रतिवर्ग मिटर छ हजार दुई सय रुपियाँ रहेको छ । सो क्षेत्र भित्र नौ वटा भवन समेत अधिग्रहण हुनेछन् । यसअघि जिल्लाले जग्गा अधिग्रहणका लागि गर्नुपर्ने सबै काम पूरा गरी सकेको कारण अब केही दिनमा उपसमितिको बैठक बस्ने र त्यसबाट जग्गा अधिग्रहरणका लागि सूचना सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
अबको तीन महिनाभित्र जग्गा अधिग्रहरणको सबै काम पूरा हुने र त्यसपछि विस्तारको कार्य अगाडि बढाइने उहाँले बताउनुभयो । यो काम सम्पन्न भएपछि हाल बिमानस्थलको लम्बाईमा तीन सय मिटर वृद्धि हुनेछ । हाल सिमकोट विमानस्थलको लम्बाइ घेरवारसहित सात सय मिटर लम्बाइ रहेको छ भने रन वे साढे छ सय मिटर रहेको छ । अब विस्तारपछि विमानस्थलको लम्बाइ घेरवारसहित एक हजार दश मिटर रहने छ भने साढे नौ सय मिटर लम्बाइ रन वेको हुनेछ ।
विमानस्थलको विस्तारपछि २९ र ४५ सिटे जहाज अवतरण गराउने लक्ष्य रहेको छ । हाल १४ देखि १८ सिटे साना जहाज अवतरण गर्दै आएका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्ला प्रशासन र सम्बन्धित कार्यालयमार्फत कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भए पनि आवश्यक बजेट नहुँदा काम अघि बढ्न सकेको थिएन । कैलाश मानसरोवर दर्शनको मुख्य प्रवेश बिन्दका रूपमा रहेको सिमकोट विमानस्थलसहित सम्पूर्ण हुम्लाको पर्यटन प्रवर्धन सहयोग पुग्ने विस्वास गरिएको छ ।