ताप्लेजुङ, भदौ २ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कमलुङ) क्षेत्रको फोटोपुस्तक ‘पाथीभरा’ सार्वजनिक गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले प्रकाशन गरेको उक्त फोटो पुस्तक आइतबार सार्वजनिक गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा समितिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमकाबिच फोटो पुस्तक ‘पाथीभरा’ सार्वजनिक गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वमन्त्री मणि लामा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायतले संयुक्त रुपमा पुस्तकको सार्वजनिक गर्नुभएको हो ।
प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रवर्धन, विकास र पाथीभरामा अधिक भक्तजन तथा पर्यटक भिœयाउने उद्देश्य राखेर फोटोपुस्तक प्रकाशित गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रकाशित पुस्तकले पाथीभराको प्रवर्धन, विकास र प्रचारप्रसारमा टेवा पुग्ने समितिले विश्वास राखेको छ ।
यता फोटोपुस्तक सार्वजनिक गर्नुहुँदै पूर्वमन्त्री भट्टराईले पवित्र धार्मिकस्थल पाथीभराको प्रवर्धनमा टेवा पुग्ने र धार्मिक पर्यटकलाई पाथीभरा दर्शन गर्ने प्रेरणा प्रदान गर्नमा पुस्तक सहयोग बन्ने बताउनुभयो । उहाँले प्रकाशित पुस्तकजस्तै धेरैभन्दा धेरै धार्मिक पर्यटक अर्थात भक्तजन भिœयाउने गरी पाथीभरा क्षेत्रमा अझ रचनात्मक कामहरु गर्न आवश्यक रहेको भट्टराईले बताउनुभयो ।
पुस्तकको लेखक फोटोग्राफर हर्कराज गुरुङ रहनुभएको छ । पुस्तकको अवधारण, फोटो सङ्कलन, कथा तथा विवरण लेखन गुरुङले नै गर्नुभएको छ भने पुस्तक प्रकाशनको जिम्मेवारी पनि उहाँले नै लिनुभएको थियो । फोटो पुस्तकका पाथीभरा धाम तथा यस क्षेत्रसम्बन्धी एकसय वटा भन्दा बढी शब्द विवरणसहित फोटो (तस्बिर) समावेश गरिएका छन् ।