08/17/2025, 10:45:13

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल


बागलुङ, भदौ १ : बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङकन प्रणालीमा अब्बल बनेको छ । आर्थिक वर्ष २०८०/०८१ मूल्याङ्कनमा नगरपालिका अब्बल बनेको हो ।

यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थाीय आर्थिक विकासको प्रवर्धनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्याङ्कनमा नगरपालिका अब्बल बनेको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले उक्त जानकारी गराउनुभएको हो । ‘‘औपचारिक घोषणा भने भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेश स्तरमै पुरस्कृत बन्ने भएको छ’’ महाशाखा प्रमुख कँडेलले भन्नुभयो, ‘‘सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनााउन सकेको छ ।’’

तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्याङ्कन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार पाँच शीर्षकमा दुई दर्जनभन्दा बढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्याङ्कन गर्न थालेको हो । सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्याङ्कन गर्न सुरु भएको हो ।

तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टि नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कंडेलले बताउनुभयो । मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियान बागलुङ नगरबाट थालेको छ । देशभरमै पहिलो पटक बागलुङबाट थालिएको कँडेलले बताउनुभयो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्नेगरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताउँदै त्यसका लागि कर्मचारी र कार्यालय स्मार्ट बनाउने बताउनुभयो । नगरपालिकाले न्याय सम्पादन, पर्यटन प्रवर्धन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम गरिरहेको छ । ‘‘सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमा भएको छ’’ नगर उपप्रमुख राजु खड्काले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जनप्रतिनिधि, कर्मचारीको साझा पहलबाट नगरपालिकाको सुशासन सूचक अगाडि बढेको बताउनुभयो । गत आर्थिक वर्ष पनि नगरपालिकाले बालमैत्री शासन युक्त पालिका घोषणा गरेको, फोहोरको दिगो व्यवस्थापनका लागि काम थालेको, बजार सौन्दर्यकरणको काम भइरहेकाले सूचकमा सुधार गर्दै अब्बल बन्ने कामलाई निरन्तरता दिने शाखा प्रमुखहरुले समेत प्रतिवद्धता जनाएका छन् ।