08/15/2025, 13:53:40

मुक्तिनाथमा साढे १० करोडभन्दा बढी भेटी सङ्कलन


मुक्तिनाथ (मुस्ताङ), साउन ३० : हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थलको दर्शनका लागि आउने तिर्थालुले दानपेटिका र रसिदमार्फत साढे १० करोडभन्दा बढी भेटी चढाएका छन् ।

नेपाली, भारतीय र तेस्रो मुलुकबाट आउने धार्मिक भक्तजन मन्दिर परिसर बाहिर र भित्र राखिएको पाँच वटा दानपेटिका, नगद रसिद काँटेर गरिएको दानबाट हालसम्म मुक्तिनाथ विकास समितिको खातामा अहिले १० करोड ३९ लाख ९८ हजार आर्थिक मौज्यात रहेको छ । यो मुख्य मन्दिरमा चढाइएको दान, भेटी बाहेक समितिका कर्मचारीमार्फत संकलन भएको भेटी हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालको अध्यक्षतामा रहने समितिको बैठकमा नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, प्रभु बैंक, सांग्रिला विकास बैंक र माछापुच्छ्रे बैंकमा राखिएको विवरण सार्वजनिक गरिएको थियो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘नगद रसिद र दानपेटिकाको भेटीलाई बैंकमा जम्मा गरिन्छ, यसबाटै कर्मचारीको तलबसुविधा र आवश्यकता अनुसार खर्च हुन्छ ।’’

त्यस्तै भारतीय तथा तेस्रो मुलुकबाट मन्दिरमा आउने तिर्थालु तथा पर्यटकले चढाएको विदेशी मुद्रा समितिको सदस्य सचिव रहेको जिल्ला मालपोत कार्यालय र जिल्ला प्रहरी कार्यलयमा सुरक्षित राखिएको छ। विदेशी मुद्रा सटही भएपछि मुल खातामा जम्मा हुने प्रजिअ भुषालले बताउनुभयो ।

हाल १७ लाख १ हजार ५ सय ४८ भारू, अमेरिकी डलर ९ सय १८, अस्ट्रेलियन डलर २ सय, मलेसियन रिङ्केट १ सय ५०, क्यानेडियन डलर १ सय, सिंगापुर डलर १५ रहेको छ । समितिले भेटीबाटै पूजारीलाई मासिक ५ हजार, रसिद काट्ने कर्मचारी र सरसफाइकर्मी सहित ३ जनालाई मासिक ६२ हजार रुपियाँ सहित स्टेसनरी, कर दाखिला लगायत विभिन्न २१ शीर्षकमा २०८१-०८२ मा २२ लाख ६७ हजार ५८२ रुपैयाँ खर्च भएको जनाएको छ भने गत आव ०८१-०८२ मा २० लाख ६७ हजार बढी भुक्तानी दिन बाँकी रहेको छ ।पछिल्लो समय मन्दिरमा भक्तजनको सहजताका लागि डिजिटल चन्दा भुक्तानी गर्ने सुविधाले भेटी संकलनमा केही राहत मिलेको समितिले जनाएको छ ।

विगतमा मन्दिरमा संकलन भएको भेटीलाई कर्मचारीको तलबसुविधा बाहेक अन्यत्र खर्च नहुने गरेकोमा यसपटक भक्तजनलाई सहज हुने विभिन्न योजनाहरूमा समेत खर्च गरिएको छ । मन्दिरको पूरानो स्वरुपलाई असर नगर्ने गरी सामाजिक कार्यालयको सहयोगमा मन्दिर परिसरमा ढुङ्गा बिछइएको छ । दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्स, कपडा फेर्ने स्थल, शौचालयको समेत क्षमता विस्तार लगायतका संरचना समेत तयार भएको छ ।

यसैबिच एकैपटक ५० हजार तिर्थालुलाई सेवा दिन सकिने गरी संरचनाको डिजाइन गर्न भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति समेत मागेको छ ।

मन्दिर परिसरमा निर्मित पूराना संरचनाले तिर्थयात्रुलाई असहज भएको अवस्थामा शौचालय, कपडा परिवर्तन गर्ने, मन्दिरमा प्रवेश र बाहिरिने बाटो विस्तार, कम्पाण्ड वाल निर्माण,बर्षात र हिमपाको समयमा बस्ने तथा मर्मतका लागि डिजाइन गरी पुरातत्व विभागमा पठाइएको छ । मुक्तिनाथ मन्दिरमा बर्षेनी ७ देखि १० लाखको हाराहारी तिर्थयात्री पुग्ने गरेको अनुमान छ ।

मुल मन्दिरभित्र चढाएको भेटीमा प्रजिअ भुषाल अध्यक्ष रहेको समितिको पहुँच छैन् । बि.स २०६३ सालमा समिति गठन भएपछि मन्दिरको विकास, संरक्षण, व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोगका लागि गरिएका प्रयासहरूकै परिणाम अहिलेको कोष रहेको छ ।