खोटाङ, साउन २९ : खोटाङको दिक्तेल बजारमा दस ठाउँको लाखे भेला गरेर बृहत् लाखे नाच प्रदर्शन गरिएको छ। गाईजात्राको अवसरमा जिल्ला सदरमुकाम दिक्तेल बजारमा दिक्तेल सामाजिक गुठीको आयोजनामा साउन २८ गते विभिन्न ठाउँको लाखेनाच प्रदर्शन गरिएको हो। दिक्तेलको किरात चोकबाट सुरु भएको लाखे नाच प्रदर्शन कार्यक्रम बेसक्याम्प, त्रिवेणी चोक, शङ्खधर साख्वा चोक, हाटडाँडा हुँदै फर्किएर हेलीप्याडमा समापन गरिएको छ।
लाखेनाच प्रदर्शनीमा दिक्तेल बजार सामाजिक गुठी, अर्खौले बजार सामाजिक गुठी, खाम्तेल नेवार सामुदायिक गुठी, बुइपा सेवा समाज लाखे नाच समूह, नेवाःखल समाज जालपा, झिंगु सेवा समाज खार्मी, नेवाःपुच दोर्पाचिउरीडाँडा, नेवाःपुच खल दोबेला, सोल्मा सामाजिक संस्था र नेवाःदेयदबु खाल्लेका लाखे टोलीले नाच प्रदर्शन गरेका छन्।

दिक्तेल बजार सामाजिक गुठीको आयोजनामा हरेक गाईजात्राको अवसरमा दिक्तेलमा लाखे नाच प्रदर्शन गर्ने परम्परा बसाइएको छ। नेवारी भेषभुषामा सजिएका विभिन्न ठाउँका नेवार समुदायको उपस्थितिले दिक्तेल बजार गुन्जायमान बनेको थियो। गाईजात्राको अवसरमा आपसी भाइचारा एवं संस्कृति संरक्षणका लागि लाखे नाच प्रदर्शन गर्ने गरिएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










