स्याङ्जा, साउन २८ : सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि बढेको सेवाग्राहीको भीड व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवा समय विस्तार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अबदेखि सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ८ बजेदेखि नै सेवा प्रवाह हुने बताउनुभयो ।
सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्त भित्र नवीकरण गराइसक्नुपर्ने कानुनी प्रावधान छ । यस वर्षदेखि अनिवार्य राष्ट्रिय परिचयपत्र नम्बरको व्यवस्था लागू भएपछि सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ ।
बालबालिका, अशक्त, असहाय, हेरचाह गर्न नसक्ने तथा ९० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि तत्कालका लागि राष्ट्रिय परिचयपत्र नम्बर बिना पनि नवीकरण हुने व्यवस्था भए पनि, परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार यी समूहका व्यक्तिहरू पनि परिचयपत्र बनाउन आउन थालेपछि चाप थपिएको अर्यालले बताउनुभयो । समय विस्तारले सेवाग्राहीलाई सहज र शीघ्र सेवा लिन मद्दत पुग्ने विश्वास लिइएको अर्यालले बताउनुभयो ।
केही दिन यता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीडले स्याङ्जा जिल्ला प्रशासन कार्यालय हाल दिनहुँजसो भरिभराउ बनेको हो । साउन महिनायता दैनिक तीन सयभन्दा बढी सेवाग्राही आउने गरेको र ६५ प्रतिशत ज्येष्ठ नागरिक रहेको राष्ट्रिय परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर ममिता भुसालले बताउनुभयो । भीड भए पनि दैनिक बढीमा एक सय जनासम्मको मात्र विवरण दर्ता हुने गरेको कम्प्युटर अपरेटर भुसालले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता, बैंक खाता, राहदानी लगायतका कामका लागि सदरमुकाम आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रका लागि दुई–तीन दिनसम्म पर्खिनुपरेको गुनासो गरेका छन् ।
राष्ट्रिय परिचयपत्रकै लागि धेरै सेवाग्राहीले दुईदेखि तीन दिनसम्म लाइनमा बसेर राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएको बताएका छन् । राष्ट्रिय परिचयपत्रका लागि गाउँदेखि सदरमुकाम स्याङ्जासम्म आउनुपर्ने र आवतजावतमा खर्चिलो हुने भएकाले सेवा स्थानीय तहमै उपलब्ध गराउनुपर्नेमा सर्वसाधारणले माग गरेका छन् ।