क्वालालम्पुर, साउन २६ : मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अङ्कले कमी हो । मलेसियाको तथ्याङ्क विभागले सोमबार प्रकाशित गरेको विवरणअनुसार, यो परिवर्तन देशको श्रम बजारमा देखिएको सकारात्मक प्रगतिलाई सङ्केत गर्छ ।
उक्त अवधिमा श्रम शक्तिको सङ्ख्या ०.८ प्रतिशतले वृद्धि भई एक करोड ७३ लाख ७० हजार पुगेको छ । साथै, श्रम शक्ति सहभागिता दर पनि ०.१ प्रतिशतले वृद्धि भई ७०.८ प्रतिशतमा पुगेको उल्लेख गरिएको छ । त्यसै गरी, रोजगारी प्राप्त व्यक्तिहरूको सङ्ख्या ०.९ प्रतिशतले बढेर एक करोड ६८ लाख ५० हजार पुगेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या एक प्रतिशतले घटेर ५ लाख २० हजार ९ सय मा झरेको छ ।
रिपोर्टमा मलेसियाको श्रम बजार आगामी महिनाहरूमा स्थिर रहने अपेक्षा गरिएको छ । यद्यपि, केही चुनौतीहरू पनि विद्यमान छन् । तर, सरकारले अगाडि सारेका डिजिटलीकरण, प्राविधिक तालिम र लगानी प्रोत्साहन सम्बन्धी नीतिहरूले मध्यमदेखि दीर्घकालीन अवधिमा श्रम बजारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।