07/31/2025, 01:13:13

थासाङ–जोमसोम सडक रातको समयमा बन्द हुने


१४ साउन, मुस्ताङ : राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाको मुस्ताङ खण्ड बुधबार साँझदेखि रातको समयमा सात दिन बन्द हुने भएको छ । सडकखण्ड मर्मतकार्यका लागि साउन १४ देखि २१ गतेसम्म थासाङ गाउँपालिका– ३ र ४ मा पर्ने कईकु खोला बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सडकखण्ड मर्मतको समयमा सवारीसाधन आवतजावत गर्दा काम अवरुद्ध हुने भएकाले बन्द हुनु अगाडी नै यात्रा गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो ।

अबिरल वर्षासँगै मुस्ताङ खण्डमा समेत बाढीपहिरोका कारण आवतजावत नहुने, फस्ने भएपछि सडक आयोजनाले मर्मतका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो । बिहान र दिउँसोको समयमा सडक बन्द हुँदा यात्रुलाई समस्या हुने भएकाले रातको समयमा मर्मतका लागि सडक बन्द गरिएको आयोजना प्रमुख धुब्रकुमार झाले बताउनुभयो ।

उक्त समयमा ठुला सवारीसाधनलाई निर्माणस्थल आसपासका क्षेत्रमा नरोक्न तथा पैदलयात्रीलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन स्थानीय जनप्रतिनिधिलाई समेत अनुरोध गरिएको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकक आयोजना विसं २०७४ देखि निर्माण सुरु गरिएको थियो । सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा साना ठुला पहिरा छन् ।