07/25/2025, 23:43:05

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार


 काठमाडौँ, ८ साउनः ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय दिनुभएको थियो ।
‘भिजिट भिसा’ प्रकरणमा दुई महिनादेखि विरोध जनाउँदै आएको उल्लेख गर्दै सांसद कार्कीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म विरोध नरोकिने बताउनुभयो । दुई प्रतिपक्षी दलले विरोध गर्दा पनि संसद् चल्ने अनौठो अभ्यास भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
भैँसेपाटीमा सडक विस्तार गर्न लाग्दा सशस्त्र प्रहरीले रोकेको बताउँदै सांसद कार्कीले स्थानीयको जग्गा अधिग्रहण गरेर बनेको मन्त्री भवनले बाटो विस्तार गर्न दिनुपर्ने माग गर्नुभयो । मन्त्रीले घुस माग गरेको अडियो टेप प्रकरणको सही छानबिन नभएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
राप्रपाका सांसद दीपकबहादुर सिंहले ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसद्मा विरोध जारी रहने बताउनुभयो । सरकारले सहिद गङ्गालाल अस्पताललाई सहुलियत वापतको रु ७० करोड नदिएकाले बच्चाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम दिनुपर्ने माग गर्नुभयो ।
‘भिजिट भिसा’ प्रकरणका नाममा संसद्मा विरोध गर्दै आइरहेका दुई दल रास्वपा र राप्रपाबीच पनि कस्तो छानबिन समिति गठन गर्ने भन्ने विषमा मतैक्यता छैन । रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ भने राप्रपाले संसदीय समितिको माग राख्दै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..