म्याग्दी (बेनी), २४ असारः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुर्गम ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीव्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । चालु आर्थिक वर्षमा रघुगङ्गा गाउँपालिका– ६ पाखापानीको रायखोर, मूलपानी र उल्लेरीलगायत बस्तीमा इन्टरनेटको सुविधा पुगेको हो ।
यसवर्ष पालिकाबाट प्राप्त भएको बजेटबाट वडा कार्यालयले रु सात लाख बजेटको इन्टरनेट विस्तार योजना छनोट गरेको थियो । समुदायको थप रु सात लाखको साझेदारीमा रायखोर, मूलपानी क्षेत्रका ५८ घरधुरीमा इन्टरनेटको पहुँच पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष ओमकुमार शेरपुजा मगरले जानकारी दिनुभयो ।
इन्टरनेट विस्तारका लागि गाउँसम्म करिब साढे सात किलोमिटर दूरीमा प्राइम नेटवर्क प्रालिले मुख्य फाइबर तार तानेपछि पालिका र समुदायको साझेदारीमा इन्टरनेट वितरण तार र इन्टरनेटका मेसिन तथा उपकरण खरिद गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयले तीन वर्षदेखि सुरु गरेको ग्रामीणबस्तीमा इन्टरनेट विस्तार अभियानले यसवर्ष पूर्णता पाएको छ ।
पहिलो र दोस्रो वर्षमा रु ६ लाख ५० हजारका दरले बजेट विनियोजन भएको र यसवर्ष रु सात लाख बजेट गरी कूल २० लाख बजेट खर्चेर वडाका टोलबस्तीमा इन्टरनेटको पहुँच र सुविधा विस्तार गरिएको वडाअध्यक्ष मनकुमार शेरपुजा मगरले जानकारी दिनुभयो । यस वडाका सबै बस्ती र टोल इन्टरनेटको पहुँचमा पुगेको उहाँले बताउनुभयो ।
“कतिपय टोलबस्तीमा मोबाइल फोनको पनि सहज पहुँच थिएन, हामीले आधुनिक सूचना प्रविधिको पहुँचलाई टोल टोलमा पु¥याउन अभियान थालेका थियौँ, यस वर्ष वडाभरी नै इन्टरनेटको पहुँच पु¥याउने योजनाले पूर्णता पाएको छ । सरकारी बजेटकै हाराहारीमा समुदायकोसमेत साझेदारीले योजनाले पूर्णता पाउन सकेको हो”, वडाध्यक्ष शेरपुजा मगरले भन्नुभयो । उहाँका अनुसार पाखापानीका विभिन्न टोलबस्तीका करिब तीन सय घरमा इन्टरनेट जडान भइसकेको छ ।
सेवा प्रदायक कम्पनीका म्याग्दी शाखा प्रमुख गोविन्द पौडेलले हरेक घरमा ५० एमबिपिएसदेखि तीन सय एमविपिएस क्षमताको इन्टेरनेट सुविधा पुगेको बताउनुभयो । भौगोलिक विकटता र वनजङ्गलका कारण ग्रामीण भेगमा इन्टरनेट विस्तार गर्न जटिल रहेको अवस्थामा कम्पनीले ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएर सेवा विस्तार गर्ने योजनामा सहकार्य गरेको उहाँको भनाइ छ ।
इन्टरनेटको क्षमताअनुसार वार्षिक रु १० हजारदेखि रु १३ हजार ७०० सम्म शुल्क निर्धारण गरिएको छ । रघुगङ्गा गाउँपालिका–८ मासमेत यसवर्ष इन्टरनेट विस्तार भएको छ । मोबाइल फोनको समेत सहज पहुँच नभएका गाउँबस्तीमा इन्टरनेट पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । चालु आवमा गाउँपालिकाबाट विनियोजन भएको रु नौ लाख बजेट र समुदायको रु नौ लाखलागत साभेदारीमा यस वडाको घ्यासीखर्क, चौरखानी, दुवाढी, ढाँड, पात्लेखर्क, खरिबोट बस्तीका एक सय ३४ घरमा इन्टरनेट जडान गरिएको इन्टरनेट विस्तार उपभोक्ता समितिका अध्यक्ष केशव छन्त्यालले जानकारी दिनुभयो ।
बिहुकोट इन्टरनेट कम्पनीले गाउँसम्म फाइबर नेटको तार तानेपछि गाउँपालिका र समुदायको साझेदारीमा वितरण तार विस्तार र इन्टरनेटका उपकरण खरिद गरिएको थियो । विद्यालय र स्वास्थ्य संस्थामा समेत इन्टरनेट जडान गरिएको छ । विद्यालयमा इन्टरनेट सुविधा पुगेपछि प्रविधिमैत्री शिक्षण सिकाइका लागि सहज हुने अपेक्षा गरिएको छ । यस्तै, कार्यालय प्रयोजन र व्यक्तिगत काममा मोबाइल डाटाबाट इन्टरनेटको प्रयोग गर्नुपर्ने बाध्यता र झन्झट समेत हटेको छ ।