गण्डकी, २४ असारः गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको छ । अर्थ तथा विकास समितिमा दफाबार छलफलपछि प्रतिवेदनसहित प्रदेशसभामा आएको विधेयकमाथि प्रदेशसभा बैठकमा पुनःछलफल गरी पारित गरिएको हो ।
आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन छलफलका लागि प्रदेशसभा बैठकमा पेस गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको बैठक आज बसेको हो । अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिनुभयो ।