07/05/2025, 00:17:39

‘औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’


गण्डकी, २० असारः पूर्वअर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडाले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताउनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २९औँ स्थापना दिवस तथा २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज आयोजित ‘राष्ट्रिय अर्थतन्त्र र साना तथा मझौला उद्योग व्यवसायीका चुनौती तथा समाधान’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो ।

सङ्घका अध्यक्ष विनोद श्रेष्ठले युवाशक्ति विदेशिने समस्याको समाधान रोजगार सृजना नै भएको बताउनुभयो । लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा सङ्घीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले व्यावसायिक दृष्टिकोण विकासमा नेतृत्व गरेका वर्गले साना व्यवसायीको हितमा काम गर्न सुझाव व्यक्त गर्नुभयो । धार्मिक, शैक्षिक तथा पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकास आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आर्थिक मन्दीका बाबजुद पनि सङ्घका सदस्यहरू उत्पादनमा लागिरहेकामा प्रशंसा व्यक्त गर्नुभयो । सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रुपान्तरणमा सङ्घको भूमिका स्मरण गराउनुभयो ।

उहाँले २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने घोषणा गर्नुभयो । पुरस्कार राशि रु एक लाख एक हजार रहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ