07/04/2025, 15:21:05

एक करोड लागतमा म्याग्दीमा वडा कार्यालय भवन निर्माण


म्याग्दी, २० असारः रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।

दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष विलप्रसाद फगामीले रु एक करोड पाँच लाखको लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०÷०८१ मा रु ५० लाख र २०८१÷०८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो”, उहाँले भन्नुभयो, “चालु आवमा विनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ । नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ ।

साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गर्नुभएको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताउनुभयो ।

आठ वटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो । वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ