म्याग्दी, १३ असारः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ ।
गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिलाई घुम्ति शिविरमार्फत वडा कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी सेवा दिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनको नेतृत्वमा रहेको अनुगमन समिति, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल र लेखा अधिकृत नवीन पौडेल सहितको टोलीले बिहीबार वडा नं १ दोवामा घुम्ती शिविर मार्फत योजनाको स्थलगत भुक्तानीसम्बन्धी सेवा दिएको जनाइएको छ ।
“गाउँपालिका कार्यालय आउनजान अपायक पर्ने उपभोक्ता समितिको सहजताका लागि हामीनै वडामा पुगेर स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन र भुक्तानीसम्बन्धी सेवा दिन थालेका हौ,” उहाँले भन्नुभयो “वडाका जनप्रतिनिधिमार्फत आवश्यक कागजात र प्रतिवेदन तयार पारेपछि गाउँपालिकाबाट वडामै पुगेर भुक्तानी दिने नयाँ अभ्यास गरिएको हो ।”
हालसम्म चार वटा उपभोक्ता समितिले वडाबाटै भुक्तानी पाइसकेका छन् । एउटा उपभोक्ता समितिको बिल नमिलेपछि कागजात मिलाएर गाउँपालिकामा आउन सुझाव दिएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।
गाउँपालिकाले यसअघि वडा कार्यालयमा पुगेर योजना सम्झौता र उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै आएको थियो । वडामै भुक्तानीसम्बन्धी सेवा पाउँदा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई पालिकाको केन्द्रमा पुग्ने झञ्जट हट्नुका साथै खर्च र समयको बचत भएको अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ११३ वटा पूर्वाधारसम्बन्धी योजना सञ्चालन गरेको छ । त्रियासी वटा योजनाका उपभोक्ता समितिले भुक्तानी लगिसकेका छन् भने ३१ वटाको बाँकी छ । ठेक्का तथा कोटेशनमार्फत सञ्चालित १८ वटा योजनामध्य आठ वटाको भुक्तानी भएको र १० वटा बाँकी रहेको जनाइएको छ ।