06/26/2025, 03:19:42

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन


घोडाघोडी (कैलाली), ११ असारः पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् ।

डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिनुभयो । “मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ । नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् ।

डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् । उहाँले भन्नुभयो, “भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्दछन् । यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन् ।

यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका श्रेष्ठले बताउनुभयो । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने उहाँको भनाइ छ । “यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ”, उहाँले भन्नुभयो ।

हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताउनुभयो । “भर्खरै डल्फिन देखिन थालेका छन् । अबको केही दिनमा पर्यटकहरू अवलोकनका लागि दैनिकी जसो यहाँ पुग्ने गर्दछन्”, उहाँले भन्नुभयो ।

पर्या–पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको डल्फिन संरक्षणका लागि यस क्षेत्रमा संरक्षण र प्रवर्द्धनका लागि विभिन्न काम भइरहेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका हुन् ।

साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । यहाँ चारपटक डल्फिन महोत्सवको आयोजनासमेत गरिएको थियो । कर्णालीमा विसं २०५४ मा पहिलो पटक डल्फिन देखिएको थियो ।

स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलोपटक डल्फिन देखेपछि उहाँले यसको प्रचारप्रसार गर्नुभएको थियो । आफूले यहाँ पहिलोपटक डल्फिन देखेपछि प्रचारप्रसार तथा संरक्षणका लागि जुटेको उहाँले बताउनुभयो । “सुरूमा डल्फिन देखिएपछि प्रचारप्रसार र संरक्षणका लागि पहल गरेको थिएँ”, उहाँले भन्नुभयो, “चुनौती धेरै थिएँ तर विस्तारै यसको महत्त्वका बारेमा जानकारी दिँदै गएपछि स्थानीय सरकार, अभियानकर्मी, सरकोकार भएका निकायलगायत संरक्षण अभियानमा जुटेका छन् ।

मनसुनको याम सुरु भएपछि डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्याण्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिक यहाँ आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ