06/23/2025, 00:29:19

कर्णाली प्रदेशसभाको बैठक स्थगन


कर्णाली, ८ असारः प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख नन्दा गुरुङले काम कारबाही सुरु गरेको घोषणा गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बैठकमा समय मागेर बोल्नुभएको थियो । उहाँले बजेट आर्थिक ऐन विपरीत आएको आरोप लगाउनुभयो ।

बजेट निर्माण प्रक्रिया नै त्रुटिपूर्ण भएको दाबी गर्दै जिसीले आयोजना बैङ्क अन्तिमसम्म पनि सार्वजनिक गर्न नसकेको र प्रतिपक्षी दलसँग भएका हालसम्मका सहमति कार्यान्वयन हुन नसकेको आरोप लगाउनुभयो । माग सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो । विरोधमा नेकपा (एकीकृत समाजवादी) र राप्रपा सहितको दलहरुले समर्थन गरेका छन् ।

बैठक अवरोध भएपछि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले यही असार ५ गते कर्णाली प्रदेशसभासमक्ष टेबुल गर्नुभएको कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ माथिको कारबाही अगाडि बढ्न सकेन ।

अवरोध जारी रहेपछि सभामुख गुरुङले बैठक आधा घण्टाका लागि स्थगन भएको जानकारी दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ