घोडाघोडी (कैलाली), ५ असार : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास निर्माणका विषयमा सबै राजनीतिक पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
कैलालीको गौरीगङ्गा नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले जुनसुकै पार्टीबाट विजयी भएर आए पनि विकास निर्माणका सन्दर्भमा सबै जनप्रतिनिधि एक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बालबालिका भोलिका कर्णाधार भएकाले उनीहरूको भविष्य सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य जानकी कुँवर, गौरीगङ्गा नगरपालिकाका प्रमुख देविदत्त कँडेल, उपप्रमुख भोजबहादुर बमलगायतले बालबालिकालाई देशप्रति जिम्मेवार बनाउन उनीहरूप्रतिको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
आज ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ कैलालीको गौरीगङ्गा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।