घोराही (दाङ), ३ असारः यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरु, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो ।
यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको सामाजिक एकता, सांस्कृतिक सम्पदा र भूमि प्रतिको श्रद्धा पनि देखिने घोराही उपमहानगरपालिका–१४ का स्थानीय जुनु मगर बताउनुहुन्छ । यो पर्व आफ्नो भाषा, संस्कृति र एकता सम्झाउने माध्यम रहेको उहाँको भनाइ छ ।
भूमे पर्व केवल नाचगानको उत्सव होइन । मगर समुदायको संस्कृति, इतिहास र भविष्यसँग गाँसिएको भावनाको उत्सव पनि हो । मगर समुदायले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रुपमा लिन्छन् । भूमि बिना कुनै जीवको अस्तित्वको परिकल्पना गर्न नसकिने र भूमि नै जीवन दाता भएको मान्यता उनीहरुको छ । मगर समुदायले भूमिलाई देवताका रुपमा मान्दै आएका छन् । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् ।
यो पर्वलाई नयाँ कामको सुरुआत गर्ने दिनका रुपमा पनि लिइन्छ । सामूहिक योजना, भविष्यको सोच र सामाजिक सुदृढीकरणको मार्ग यही पर्वमा खोजिन्छ । तकसेरा समाजका अध्यक्ष मित्रलाल बुढा मगरले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताउनुभयो ।
दाङको भूमे पर्व, अब स्थानीयस्तरबाट राष्ट्रियस्तरमा अग्रसर हुँदैछ । यस पर्वमार्फत मगर समुदायको पहिचान र परम्परा जोगाउने मात्र होइन, सामाजिक सद्भाव र सहकार्यका उदाहरण प्रस्तुत हुन थालेका छन् ।
भूमे पर्वका अवसरमा मगर समुदायका विभिन्न समूहले घोराहीमा पाँच दिनसम्म भूमे पर्वलाई महोत्सवका रुपमा मनाइरहेका छन् । नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकाले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताउनुभयो । दाङमा विशेषगरी रुकुम, रोल्पाबाट बसाइँ सरी आएका मगर समुदायको बसोबास छ ।
“पृथ्वीलाई साक्षात भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस्, मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्दछन,” उपाध्यक्ष रोकाले भन्नुभयो, “यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको छ ।”