06/17/2025, 14:26:41

लोकभजन पुस्तान्तरण गरिँदै


गलकोट (बागलुङ), ३ असारः विसं २०७४ अघि बागलुङमा भजन समूह गठन थिएनन् । गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो । लोकभजन र चुट्का लोप हुन थालेपछि यहाँ भजन संरक्षणमा चासो देखाउँदै राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृति चिनाउन नयाँ पुस्ता सफल भएका छन् ।

भजन प्रतियोगिता गर्ने, पुस्तान्तरण गर्न तालिम प्रदान गर्ने तथा धार्मिक संस्थामा भजन समिति गठनले भजन संरक्षणमा टेवा पुर्‍याएको छ । विसं २०७४ देखि गठन थालिएको भजन समिति जिल्लाभर ४७ वटा पुगेका जिल्लास्तरीय लोकभजन चुट्का समितिले जनाएको छ ।

सुरुमा भजनको संरक्षणका लागि जैमिनी भजन सङ्कीर्तन समूह स्थापना भएको थियो । विसं २०७८ मा जिल्ला भजन समिति गठन भएपछि भजनको गतिविधि बढेको हो । जिल्लामा ४७ वटा भजन समूह स्थापना भएर सक्रिय भइसकेका जिल्ला भजन समितिका अध्यक्ष टेकबहादुर केसीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय भजन समिति गठन भएपछि धार्मिक प्रतिष्ठान तथा मठमन्दिरअनुसारका समूह गठन गर्ने, आपसी सहयोग बढाउने, वाद्यवादनका सामग्री खरिद गर्ने, अनुभव आदानप्रदान गर्ने र व्यावसायिक रूपमा भजन गाउने कामको थालनी गरिएको उहाँको भनाइ छ ।

पछिल्लो समय लोप हुने खतरा बढेपछि लोकभजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमी सङ्गठित भएर लागेका हुन् । लोकभजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमीले सङ्गठन विस्तारदेखि भजन प्रशिक्षण गर्दै पुस्तान्तरणको प्रयास थालेका छन् ।

भजनको धेरै विधा र ताल छन्, अहिले औपचारिक मेला महोत्सवमा भजनकीर्तन गर्ने र भजनको लयमा नाटक देखाउने गरिएको छ”, केसीले भन्नुभयो, “सनातन हिन्दूधर्म, पूर्वीय दर्शनमा आधारित संस्कार र संकृतिका रूपमा रहेको लोकभजन संरक्षणका लागि यहाँका युवा सत्रिलय छन् भने भजन प्रेमीले सहयोग गरिरहेका छन्, अहिले वाद्यवादनका सामग्री सहयोगबाट जुटाइएको छ, भजनलाई संस्थागत गरेपछि पुस्तान्तरणमा सहयोग पुग्नेछ ।

विसं २०७६ मा कालिका भगवती गुठीले लोकभजनको संरक्षण तथा पुस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । त्यसयता स्थानीय तहले मादल बजाउने तालिम प्रदान गरिरहेका छन् ।

उहाँले कालिका मन्दिर भजन समूहले बिहान भजन तथा बेलुका आरती भजन नियमित रूपमा गाउँदै आएको छ भने अन्यत्रको पूजाआजामा भजन गाउनका लागि समूहलाई खटाउँदै आएको खड्काले जानकारी दिनुभयो ।

विभिन्न मठमन्दिर, चौरासी पूजा र व्रतबन्धमा भजन गाउन समूह सक्रिय रूपमा लाग्ने गरेका छन् । भजन संरक्षण, प्रशिक्षण तथा प्रवर्द्धन सहयोग पुग्न थालेको छ । धार्मिक पर्यटकलाई लोकभजन चुट्काप्रति पछिल्लो समय आकर्षण बढिरहेको छ । प्रतिष्ठानको अगुवाइमा रु पाँच लाख बराबरको ध्वनियन्त्र र वाद्यवाधनका सामग्री सङ्कलन गरिएको अगुवा भजनकर्ता दुर्गाबहादुर आचार्यले जानकारी दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ