म्याग्दी, ३ असारः बेनी नगरपालिका-२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक/एक बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ । कक्षा तीनसम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन् ।
बालकक्षामा दुई, कक्षा १ र ३ मा एक/एक जना विद्यार्थी रहेका प्रधानाध्यापक सरस्वती नेपालीले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिकसत्रको सुरुमा २२ जना विद्यार्थी रहेकामा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरेका हुन् ।
“कक्षा ५ का एक जना उत्तीर्ण भएपछि अर्को विद्यालयमा गएका छन् । विद्यार्थीका अभिभावकले पनि विद्यालय परिवर्तन गराएपछि सङ्ख्या घट्दै गएको हो”, उहाँले भन्नुभयो, “अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका थियौँ । बालबालिकाको सिकाइ उपलब्धिमूलक बनाउन बालकक्षापछि नर्सरी सञ्चालन गरेका थियौँ । समुदायको साथ नपाउँदा विद्यार्थी सङ्ख्या घटेको हो ।”
विसं २०८० सम्म कक्षा ७ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा विद्यार्थी सङ्ख्या ५१ थियो । कक्षा ८ सञ्चालन गर्ने, गणित र विज्ञान विषयको शिक्षक माग गर्दै आएका अभिभावक र बेनी नगरपालिकाका जनप्रतिनिधि सहमति हुन नसकेपछि अभिभावकले विद्यालय परिवर्तन गराएका हंशबाहिनीका शिक्षकले गुनासो गरेका छन् ।
गत वर्ष विद्यार्थी सङ्ख्या कम भएकाले उक्त विद्यालयलाई कक्षा ८ बाट कक्षा ३ सम्मको पठनपाठन गर्न पाउनेगरी बेनी नगरपालिकाले निर्णय गरेको थियो । यहाँका तीन जना शिक्षकको दरबन्दी अन्यत्र व्यवस्थापन गरिएको प्रअ नेपालीले बताउनुभयो ।
विद्यालयको सेवा क्षेत्रमा पर्ने ठूलो र सानो खबरामा १५० घरपरिवारको बसोबास छ । सदरमुकाम बेनी बजार नजिकैको उक्त बस्तीबाट बेनीका दुई निजी विद्यालयमा दुई बस विद्यार्थी आउने शिक्षक हृदयकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार केही अभिभावकले बेनी सामुदायिक र प्रकाश माविमा पढाउन थालेका छन् ।
“हंशबाहिनीमा छोराछोरी पढाउनेलाई सामाजिक रूपमा हिंसा गर्न थालेपछि कतिपय अभिभावकले इच्छा नभए पनि बेनी पठाएको पाएका छौँ”, शिक्षक श्रेष्ठले भन्नुभयो, “रित्ता कक्षाकोठा रुघेर बस्नुपरेको छ ।” सुविधायुक्त खेलमैदान र कक्षाकोठा खाली रहेका उहाँको भनाइ छ ।