06/15/2025, 10:27:19

गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सचेतना कार्यक्रम सम्पन्न


लेखनाथ (कास्की), ३१ जेठः गण्डकी प्रदेशमा सञ्चालित सडक सुरक्षा तथा ट्राफिक सप्ताह सचेतना कार्यक्रम आज सम्पन्न भएको छ । ‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित ११ वटै जिल्लामा जेठ २५ गतेदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताह सचेतना आज समीक्षासहित सम्पन्न भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडाका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले गण्डकीका ११ जिल्लामा दुई लाखभन्दा बढीले ट्राफिक सप्ताह सचेतनामा सहभागिता जनाएका बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा आयोजित समीक्षा तथा समापन समारोहमा थापाले आफ्नो ठाउँमा राम्रो व्यवस्थापान गर्नसके त्यसको प्रभाव देशव्यापी रूपमा पर्ने धारणा राख्दै ट्राफिका सप्ताह सचेतना मनाउँदाको समयावधिमा गण्डकी प्रदेशभर आठवटा सवारी दुर्घटना भएका र त्यसमा परी पाँच जनाको ज्यान गएको जानकारी दिनुभयो । “दुर्घटनामा परेर १० जना घाइते भएका छन् । सबैभन्दा धेरै जोखिममा पैदल र साइकलयात्रीका साथै दुईपाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेहरू रहेका छन् । ट्राफिक सप्ताहमा सवारीको मेकानिकल चेकिङ, चालक सहचालकको स्वास्थ्य चेकाजाँच, लघुसचेतना कार्यक्रम, ट्राफिक नियमसम्बन्धी कक्षा सञ्चालन, सवारीमा आरक्षण सिट रहे÷नरहेको अनुगमन, तीव्र गति र ओभरटेक चेकिङ, भाडादर अनुगमन, ग्रामीण सडक लक्षित चेकिङ, ट्राफिक नियमसम्बन्धी माइकिङ, हेल्मेट र सिटबेल्ट चेकिङ, ट्राफिक सचेतनामूलक पर्चा वितरण, रक्तदानलगायत कार्यक्रम गरिएको थियो”, उहाँले जानकारी दिनुभयो ।

समीक्षा कार्यक्रममा प्रदेशका ११ वटै जिल्लामा भएका विभिन्न कार्यक्रमबारे प्रस्तुति राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले सबै पक्षको सहभागिताले ट्राफिक सप्ताह सफल भएको धारणा राख्नुभयो ।

सो त्यस अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले आवश्यकताअनुसार भौतिक पूर्वाधार नबन्दासम्म ट्राफिक व्यवस्थापनमा समस्या रहेको बताउनुभयो । महासङ्घ गण्डकी सचिव एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले यातायात व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

समीक्षा कार्यक्रममा यातायात व्यवसायी, यातायात सम्बद्ध विभिन्न श्रमिक सङ्गठनका नेता लगायतकोे सभागिता थियो । ट्राफिक सचेतना सप्ताह २०८२ को औपचारिक उद्घाटन २५ गते आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ