काठमाडौँ, २६ जेठ : फिल्म ‘लाज शरणम‘ले प्रदर्शनको १०१औं दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ । निर्माण टिमले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो ।
मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा निर्माता नवीन श्रेष्ठले सहयोग हस्तान्तरण गरेका हुन् । कुमार कट्टेलको निर्देशन रहेको ‘लाज शरणम’ले काठमाडौंका दुई हल रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा प्रदर्शनको १०१ दिन मनाएको निर्माण टिमले जनाएको छ । शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते यो फिल्म प्रदर्शनमा आएको थियो ।
फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता नवीन श्रेष्ठ हुन् ।