२० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन चाहेको सरकारले एकाएक रणनीति परिवर्तन गरेको छ । कुलमानलाई हटाउने विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेस सकारात्मक नभएपछि कांग्रेससँगै समझदारीमा सरकारले ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञका रूपमा प्रबल अधिकारीलाई नियुक्त गरेको छ । ऊर्जा विज्ञका रूपमा अधिकारीको नियुक्तिलाई कतिपयले ‘कुलमानमाथि लगाम कस्ने’ रणनीतिका रूपमा व्याख्या गरेका छन् ।
स्रोतका अनुसार सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा टेकेर नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने योजना बनाएको थियो । त्यसका लागि प्रश्नसमेत तयार पारिएको थियो । घिसिङलाई स्पष्टीकरण सोध्ने र जवाफ चित्तबुझ्दो नभएको भन्दै हटाउने सरकारको तयारी अगाडि बढिसकेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त तयारीमा काँध थाप्न सत्ता साझेदार दल नेपाली कांग्रेस तयार भएन ।
ऊर्जा मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता दीपक खड्काले सम्हालेका छन् । उनी पनि प्रधानमन्त्रीको कदममा साथ दिन तयार भएनन् । प्रतिपक्षी दल नेकपा माओवादीको चर्को विरोध, कांग्रेसको असहमति र जनताले कुलमानलाई दिएको साथले गर्दा प्रधानमन्त्री केपी शर्मा ओली ‘ब्याक’ हुन बाध्य भए ।
कुलमानलाई हटाउन तत्काल सम्भव नभएपछि प्रधानमन्त्री ओलीले प्राधिकरणको सम्पूर्ण जानकारी ऊर्जा मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी संयन्त्र बनाउने विषयमा छलफल अघि बढाए । यसरी संयन्त्र बन्दा कुलमानलाई ‘ब्यालेन्स’ मा राख्न सकिने प्रधानमन्त्री ओलीको बुझाइ थियो । यसका लागि उनले कुनै न कुनै रूपमा प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक हितमान शाक्यलाई ल्याउन खाजेका थिए । तर शाक्यको मुद्दा अदालतमा विचाराधीन रहेकाले थप विवाद निम्तिन सक्ने देखेर तत्काल उनलाई ऊर्जा मन्त्रालय छिराउने योजना क्षणभरमै थन्कियो ।
त्यसपछि मन्त्री खड्काले नै प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रबल अधिकारीको नाम लिए । नेपाली कांग्रेस निकट मानिए पनि अधिकारी एमालेसँग पनि उत्तिकै बलियो सम्बन्ध भएका व्यक्ति हुन् । अधिकारीको नाममा प्रधानमन्त्री ओलीसमेत सहमत भएपछि गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञको रूपमा अधिकारीलाई नियुक्त गरेको छ । ऊर्जासम्बन्धी भारतसँग हुने हरेक द्विपक्षीय बैठक तथा समझदारीमा अधिकारी यसअघि छुट्ने गरेका थिएनन् ।
इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका अधिकारीले एक दशक प्राधिकरणको विद्युत् व्यापार विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि छ । उनलाई विशिष्ट श्रेणी सरहको सुविधा पाउनेगरी विज्ञमा नियुक्त गरिएको हो । नियुक्त भएकै भोलिपल्ट अधिकारीलाई ऊर्जामन्त्री खड्का लगायतले नियुक्ति पत्र दिँदै मन्त्रालयमा स्वागत गरेका थिए । जबकि मन्त्रालयभित्र उनको कार्यकक्ष नै बनिसकेको छैन । मन्त्रीसँगैको अर्को कोठा उनका लागि तयार हुँदैछ ।
अधिकारीको नियुक्तिसँगै ऊर्जामन्त्री खड्काले प्राधिकरणका हरेक कामको जानकारी मन्त्रालयमा हुने गरी संयन्त्र बनाउन निर्देशन दिएका छन् । विद्युत् आयोजना, प्रसारण लाइनदेखि प्राधिकरणले गरिरहेको खर्च र आम्दानीको हिसाबकिताब समेत मन्त्रालयसम्म आउने संयन्त्र बन्नुपर्ने उनको भनाइ छ । यसरी प्राधिकरणले गर्ने हरेक कामको जानकारी लिने र आवश्यक पर्दा हस्तक्षेप पनि गर्ने मन्त्रालयको योजना छ । यसले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई एकलौटी निर्णय लिन गाह्रो पर्न सक्छ ।