मोरङ, १३ जेठः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको २५औँ (रजत) वार्षिकोत्सवको उपलक्ष्यमा आयोगको कोशी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित अन्तरक्रियामा उहाँले मानवअधिकार संरक्षण र सम्वर्द्धनमा सम्बन्धित सरोकारवाला गम्भीरतापूर्वक काम गरेमा सफल हुने धारणा राख्नुभयो । प्रदेश प्रमुख खापुङले समाजमा हुने विभेद, असमानता, अन्याय र अत्याचार समाप्त गरेमा मानवअधिकार संरक्षण गर्न सकिने उल्लेख गर्नुभयो ।
प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, पिछडिएका समुदाय महिला, आदिवासी जनजातिको हकअधिकार एवं मानवअधिकार स्थापित गर्न राजनीतिक दलका नेताहरुको भूमिका महत्त्वपूर्ण रहने चर्चा गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आयोगको कामले अन्तरराष्ट्रिय क्षेत्रमा उच्च छवि कायम राख्न सफल भएको बताउनुभयो ।
आयोगका मानवअधिकार अधिकृत डिल्लीराम लम्सालले कोशी प्रदेश कार्यालयले मिति २०८१ जेठ १३ गतेदेखि २०८२ जेठ १२ गते जम्मा २३२ उजुरी प्राप्त भएकामा ९२ वटा अनुसन्धान गरिएको जानकारी दिनुभयो ।