बन्दीपुर (तनहँ), ५ जेठः ‘पहाडकी रानी’का रूपमा परिचित छ यहाँको बन्दीपुर । ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय नगरी बन्दीपुरको विविधता र समृद्धिको प्रचारप्रसार गर्ने उद्देश्यले गोरखापत्र संस्थानको प्रतिष्ठित साहित्यिक मासिक पत्रिका मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण गरिएको छ ।
आइतबार यहाँ आयेजित एक विशेष समारोहकाबीच गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, मधुपर्कका सम्पादक त्रिभुवन वाग्ले, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, बन्दीपुर भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङ, समाजसेवी नमस्ते लालभूमि र शिवलाल प्रधानले संयुक्त रूपमा विशेषाङ्कको लोकार्पण गर्नुभयो ।
यही २०८२ सालको जेठ महिनाको यो विशेषाङ्कमा बन्दीपुरको इतिहास, संस्कृति, प्रकृति, पर्यटकीय सम्भावना, पुराना भवन तथा सम्पदा, जात्रा–पर्व, मौलिक जीवन शैली र स्थानीय पहिचानसँग जोडिएका साहित्यिक रचना, संस्मरण र तस्बीर समावेश गरिएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “बन्दीपुर विशेषाङ्क साँच्चिकै अर्थपूर्ण अङ्क हो । यसमा बन्दीपुरसँग सम्बन्धित थुप्रै महत्त्वपूर्ण सामग्री समेटिएका छन् । यो अङ्क पढ्ने जोकोहीले बन्दीपुरको विविधता र समृद्धि बुझ्न सक्नेछन् ।” उहाँका अनुसार गतवर्ष फागुन महिनामा मधुपर्कले नेपालका ४० जना स्रष्टालाई बन्दीपुरमा लगेर ‘राष्ट्रिय सिर्जना सम्मेलन’ आयोजना गरेको थियो । सम्मेलनमा सहभागी भएका रचनाकारका साथै अन्य स्रष्टाका रचनासमेत यस अङ्कमा प्रकाशित छन् ।
मधुपर्कका सम्पादक त्रिभुवन वाग्लेले यो अङ्क तयार गर्न निकै मेहनत गरिएको बताउँदै भन्नुभयो, “सामान्यतया ८० पृष्ठ हुने मधुपर्क यो पटक ११२ पृष्ठको बनेको छ । समावेश गरिएका रचना खँदिला छन्, र यसरी साहित्य र पर्यटनको संयोजनमार्फत गोरखापत्र संस्थानले एउटा उत्कृष्ट प्रयास गरेको छ ।”
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले मधुपर्कमार्फत बन्दीपुरको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारका तर्फबाट हामी यस्ता कार्यलाई सधैँ स्वागत गछौँै । साहित्यिक रूपमै हाम्रो ठाउँको पहिचान बनेर जानु गौरवको कुरा हो ।”
बन्दीपुर प्राचीन पुरातात्विक सम्पदाले भरिपूर्ण गन्तव्य हो । यहाँको टँुडिखेल, सहिदपार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र बिन्दबासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा पिकनिक स्पट, गुम्बा, रामकोट, कोरीखा, धरमपानीहोमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, मौरीपालन र च्याउउत्पादन केन्द्र प्रमुख आकर्षण हुन् ।
नेवार, मगर, गुरुङ लगायत जातजातिका सांस्कृतिक भेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन् । हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन् ।
डुम्रे बजारबाट करिब ८ किमीको यात्रा गरेपछि पुगिने बन्दीपुर बजार हाल केवलकारबाट पनि पुग्न सकिन्छ । ठुलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा ल्याइएको केवलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पु¥याउने हुँदा आवागमन थप सहज भएको छ ।