05/15/2025, 21:26:39

बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण


तनहुँ, १ जेठः जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो ।

मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसानलाई कृषिका क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा पालिकाले प्राथामिकता दिँदै आएको छ ।”

मौरीसहितको घारको मूल्य रु नौ हजार पर्ने जनाउँदै उहाँले वार्षिक कृषि कार्यक्रमअन्र्तगत मौरी पालन गर्न इच्छुक किसानलाई तालिम र मौरीसहितको घार वितरण गरिएको बताउनुभयो । पालिकाले तोरी र मुसुरोखेतीका लागि गत वर्ष रु तीन लाख विनियोजन गरेको थियो । तोरी र मुसुरोखेतीसँगै मौरीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न घार सहयोग गरिएको अध्यक्ष थापाको भनाइ छ ।

गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको पालिका कार्यालयले जनाएको छ ।

तीन दिनका लागि सञ्चालित मौरीपालन तालिम आज समापन हुँदैछ । तालिम सकिएपछि मौरीसहितको घार वितरण गर्ने योजना रहेकामा तालिम अगावै मौरी र घार आएकाले वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ