३१ वैशाख, काठमाडौं : हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा ९८ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । खुद प्रिमियम आम्दानी पहिले ३ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा अहिले ४ अर्ब १८ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी सामान्य बढेको छ ।
वार्षिक प्रतिसेयर आम्दानी पहिले १२ रुपैयाँ ४१ पैसा रहेकोमा अहिले १२ रुपैयाँ ६८ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २४ पैसा छ । १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले २० अर्ब पुर्याउनुपर्नेछ । चुक्ता पूँजी वृद्धिका लागि कम्पनीले हकप्रद र बोनस सेयर रोजेको छ । पूँजी वृद्धि योजना बीमा प्राधिकरणमा बुझाएको छ । कम्पनीले सञ्चित गरेको नाफा १ अर्ब २ करोड रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ९३७ रुपैयाँ ७० पैसा छ ।