काठमाडौँ, २७ वैशाख : नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण स्वामित्वमा ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ को सुरुवात गरेको छ । नेपाल लाइफले आफ्नो सहायक कम्पनीका रूपमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको जनाएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरे ।
नेपाल लाइफले पाँच अर्ब रुपैयाँ लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको हो । बिमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको जनाएको छ ।
उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष संघईले नियामक निकायका नियमअनुसार अगाडि बढ्दै कम्पनी स्थापना गरिएको बताए । यसलाई उदाहरणीय कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।