मोरङ, १८ वैशाख : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुलुकमा उद्योग र पर्यटन क्षेत्रको विकास गरी युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्ने बताउनुभएको छ ।
कोशी प्रदेश सरकारद्वारा आयोजित दुई दिने प्रदेश लगानीको आज विराटनगरको सभागृहमा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उद्योग र पर्यटनका क्षेत्रमा लगानी वृद्धि गरेमा मात्र युवा पलायन रोक्न सकिने धारणा राख्नुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनबाट हिन्दू र बौद्धधर्मावलम्बीलाई नेपालमा घुमाउन सके देश आर्थिक रुपमा बलियो हुने बताउनुभयो ।
सङ्घीय सरकारले आवश्यक नीति बनाइ भारतीय पर्यटकलाई नेपालमा आकिर्षत गर्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाव दिनुभयो । उहाँले अहिले मुलुकभरि लगानीको वातावरण बनिरहेको र यसबाट राष्ट्रले राम्रो प्रतिफल प्राप्त गर्नसक्ने बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनामा देश गए पनि कतिपय कानुन पुराना भएका कारण समस्या भइरहेको बताउनुभयो । उहाँले सङ्घीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक उरहेको बताउनुभयो ।
“मुलुकका सबै प्रदेश प्राकृतिक स्रोत साधनले धनी छन् । कर्णालीको साधन स्रोतको उपयोग गर्न सके देशको समृद्धिमा सहयोग पुग्छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।