04/29/2025, 19:03:41

मगरभाषा संरक्षण तालिम


गलकोट (बागलुङ), १६ वैशाखः बागलुङको काठेखोला गाउँपालिकाले मगरभाषा संरक्षणका लागि अभियान थालेको छ । आदिवासी जनजातीमध्येका मगर समुदायले बोल्ने मगर खाम र मगर ढुट भाषा लोप हुन थालेपछि संरक्षणका लागि प्रशिक्षण अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पहिलो चरणमा काठेखोला–१ का मगर समुदायलाई एकमहिने मगर भाषा (ढुट) तालिम दिएको छ । परापूर्वकालमा मगर खाम भाषा र मगर ढुट भाषा बोल्दै आएका गाउँवासीलाई मगर ढुट भाषासम्बन्धी एकमहिना लामो प्रशिक्षण दिइएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँले काठेखोला–१ बाट थालेको मगर भाषा प्रशिक्षण तामिललाई गाउँपालिकाभर अभियानका रुपमा चलाइने बताउनुभयो । उहाँले आफ्नो भाषा संस्कृति र संस्कारलाई जोगाउनु गाउँपालिकाको कर्तव्य रहेको जनाउँदै गाउँपालिका भरका मगर समुदायलाई मगर भाषा सिकाइने बताउनुभयो । पछिल्लो समय चलनचल्तीको भाषाका रुपमा मगर ढुटलाई लिनेगरी अभियान थालिएको छ ।

पहिलोपटक गाउँपालिकाले करिना, धिमी र दोबिल्लाका ७५ जनालाई एकमहिने मगर भाषा प्रशिक्षण सम्पन्न गरिएको थापाको भनाइ छ । “पछिल्ला पुस्ताले मगर भाषा बोल्नै जान्दैनन्, भाषाको पुस्तान्तरण गर्न आवश्यक देखियो, त्यसैले भाषामा दख्खल राख्ने प्रशिक्षकले एक महिना लामो मगर भाषा प्रशिक्षण दिनुभएको छ, दोस्रो चरणमा अर्को वडामा समेत प्रशिक्षण गर्नेछौँ”, थापाले भन्नुभयो “प्रशिक्षणमा सहभागी स्थानीयले कम्तीमा मगर भाषामा सामान्य कुराकानी गर्न सिक्नुभएको छ, सिकेको भाषालाई परिवारका सदस्यलाई सिकाउन आग्रह गरिएको छ ।”

एक महिना लामो तालिमले मगर भाषाको विषयमा सामान्य जानकारी र कुराकानी गर्न सिकेको तालिममा सहभागी स्थानीय पूर्णबहादुर थापा मगरले बताउनुभयो । तालिममा ७५ महिला, पुरुष तथा युवा सहभागी रहेका थिए । सामान्य घरायसी कामकाजका लागि मगर भाषामा कुराकानी गर्न सक्ने भइएको भए पनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग छ ।

गलकोट राज्यको पालामा तामाखानी खन्ने क्रममा यस वडाका मगर समुदायलाई खाम भाषा बोल्न रोक लगाइएपछि भाषा बिस्तारै लोप भएर जान किंवदन्ती रहेको काठेखोला–१ का वडाध्यक्ष खडक थापाले बताउनुभयो । यहाँका मगरहरुले गलकोट राज्यअन्तर्गत पर्ने विभिन्न खानीमा काम गर्ने र खाम भाषा बोल्ने गरे पनि अरूले खाम भाषा नबुझ्दा समस्या भएको भन्दै खानी खन्ने क्रममा खाम भाषा बोल्न नपाइने नियम लगाइएपछि मगर भाषा बिस्तारै लोप भएर जान थालेको र पछि मगर भाषा तालिम दिइएकोे वडाध्यक्ष थापाले बताउनुभयो ।

दुई पुस्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको थापाले बताउनुभयो । ७५ जनालाई तालिम दिइएको प्रशिक्षक तनहुँको घिरिङ निवासी दिलीप थापा मगरले बताउनुभयो । उहाँले आफूले सिकेका कुरा स्थानीयले घरमा मात्रै लागू गरेमा भाषा संरक्षणमा समस्या नहुने उहाँको भनाइ छ ।

एक महिना पाँच दिनसम्म सञ्चालनमा आएको तालिममा धिमिका १८, दोबिल्लाका १८ र करिनाका ३९ मगर समुदायलाई तालिम दिइएको थियो । तालिमको प्रशिक्षण खर्च रु एक लाख गाउँपालिकाले उपलब्ध गराएको र अन्य खर्च स्थानीयले गरेका थिए । तालिमपश्चात् मगर भाषामा सामान्य कुराकानी गर्न थालिसकेको वडाध्यक्ष थापाले बताउनुभयो । नेपाली मगर माषामा (ढुट, खाम, काइके र पोइके) प्रचलित भाषा हुन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ