04/23/2025, 15:20:57

ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति


म्याग्दी, १० वैशाख : ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ । मङ्गला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मङ्गला–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक विसं २०६८ मा मार्ग खुलेको थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. तीन करोड २७ लाख बजेट बिनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि रु. दुई करोड १७ लाखमा निर्माण कम्पनीले ठेक्का लिएको छ । ठेक्का मार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मङ्गला–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो ।

उहाँका अनुसार नौ सय ४५ घनमिटर पलम (पक्कि) पर्खाल, एक हजार पाच सय ९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र दुई सय २० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ । आगामी असार महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।

सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ । हाल कच्चि, साघुुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यसअघि गत वर्ष हाडेभिर–पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो । यो मङ्गला गाउँपालिकाको गौरवको आयोजना हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ