04/07/2025, 05:41:48

उपल्लो मुस्ताङको ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती


मुस्ताङ, २४ चैत : उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक विस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय र पर्यटकलाई समस्या भएको छ ।

मुख्यराजमार्ग सडकले जोडिएको लोघेकर दामोदरकुण्ड–१ चराङबाट कालीगण्डकी पारिको लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा त्यस क्षेत्रका नागरिक र पर्यटकलाई बर्खायाममा आवतजावत गर्न सास्ती खेप्नुपरेको छ । मुस्ताङको चराङबाट ‘ध्ये’ खोला कटेर ध्ये र ताङ्ग्या गाउँ हुँदै मनाङको नाफु जोड्ने पर्यटकीय पदमार्ग पर्छ । उपल्लो मुस्ताङबाट ध्ये र त्याङ्ग्या हुँदै मनाङ जाने छोटो दूरीको पर्यटकीय पदमार्ग पर्ने भएकाले त्यहाँ पुलको आवश्यकता महसुस गरिएको थियो ।

उत्तरी कोरलापास र दामोेदरकुण्डसहित अन्य शाखा नदीको समिश्रण ‘ध्ये’ खोलामा पुल आवश्यकता धेरै अघिदेखि गरिए पनि हालसम्म त्यहाँ पुल बन्न सकेको छैन । गाउँपालिका केन्द्र चराङ र कोरला सडकसँग ध्येगाउँ र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी ‘ध्ये’ खोलामा पुल नहुँदा समस्या भएको लोघेकर दामोदरकुण्ड–५ का वडाध्यक्ष पासाङ गुरुङले जानकारी दिनुभयो । ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आवतजावत गर्न समस्या हुने गरेको छ ।

बर्खायाममा त कालीगण्डकी ध्येखोलाको बाहव उच्च हुन्छ, खोला तरेर वारिपारि गर्न सकिँदैन”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “बर्खायामको तीन–चार महिना त हाम्रो गाउँमा पूरै नाकाबन्दी लगाएजस्तै हुन्छ, पुल नहुँदा यताउता जान पनि मिल्दैन ।

भौगालिक रुपले विकट ध्ये र ताङ्ग्या गाउँमा उत्पादन हुने कृषि उपज र पशुपालनको बजारीकरण गर्नमा समेत पुल नहुँदा समस्या पर्ने गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । “बर्खायाममा खोला ठूलो भएर तर्न सकिँदैन”, उहाँले भन्नुभयो, “हिउँदयाममा खोला घटेपछि भने तरेर आवतजावत गर्ने गरेका छाँै ।

मुख्य राजमार्ग सडकअन्तर्गत पालिकाको केन्द्र चराङबाट एक घण्टा ओरालो झरेर ध्येखोला तरेर केही मिनेट उकालो लागेपछि ध्ये र ताङ्ग्या गाउँमा पुग्न सकिन्छ । यद्यपि यी दुई गाउँमा कच्ची सडकको पहुँच जोडिए पनि ध्येखोलामा पुल नहुँदा समस्या परेको हो । त्यस क्षेत्रका नागरिकले बर्खायाममा खाद्यान्न तथा दैनिक उपभोग्य सामान हिउँदयाममा खोलाको सतह घटेपछि मात्रै ढुवानी गरेर मौज्दात राख्ने गरेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

सङ्घीयतापछि लोघेकर दामोदरकुण्ड–१ र ५ जोड्ने गरी यहाँ पुल बनाउन गाउँपालिकाले पहलकदमी गर्दै आएको थियो । झन्डै ५०० मिटर दूरीमा फैलिएको ध्येखोलामा पुल निर्माणका लागि वैज्ञानिक अध्ययन र सर्भेसमेत भएको थियो । दुईवटा सरकारी निकायले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरे पनि सरकारले त्यहाँ पुलका लागि बजेट विनियोजन नगर्दा समस्या भएको हो । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक सरकारले पुल बनाइदेला भन्ने आशमा छन् ।

ध्ये र ताङ्ग्य गाउँ जोड्ने पुल निर्माणका लागि यसअघि पूर्वाधार विकास निर्देशानालयले डिपिआर तयार गरेको थियो । ध्येखोलामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभाग (डोली)ले पनि सर्भे गरेको थियो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले ध्येखोलामा पुल निर्माण गर्न पटकपटक प्रयास गरिए पनि बन्न नसकेको बताउनुभयो । आवश्यक बजेट अभावले पुल बन्न नसकेको उहाँको भनाइ छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ