म्याग्दी (बेनी) ८ चैतः पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दम्पतीलाई सम्मान गरेको छ । ६०औँ अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ का अवसरमा गाउँपालिकाले आज २८ दम्पतीलाई नगदसहित सम्मान गरेको हो ।
गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गरेका हरेक जोडीलाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई, जिल्ला समन्वय समिति उपप्रमुख सोमबहादुर जिसी, गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्यलगायतले अन्तरजातीय जोडीलाई सम्मान गर्नुभयो ।
जातीय भेदभावलाई हटाउँदै समाज रुपान्तरणमा अन्तरजायीय विवाह गरेका व्यक्तिको महत्त्वपूर्ण योगदान रहेकाले उहाँहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । कानुनी रूपमा जातीय भेदभाव र छुवाछुतलाई वर्जित गरिएपनि सामाजिक कुरीतिका रूपमा रहेकाले अन्तरजातीय विवाह गरी समाजमा उदाहरणीय भूमिका निर्वाह गरेका दम्पतीलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य नेपालीले गाउँपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई गरेको सम्मानले सकारात्मक सन्देश दिएको बताउनुभयो ।
गाउँपालिकाले पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबिच विवाह भएका जोडीको विवरण सङ्कलन गरेर सम्मान गरेको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, दिवसको अवसरमा गत वर्ष पालिकाले सञ्चालन गरेको कक्षा ८, १० र राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दुई÷दुईजना दलित छात्र र छात्रालाई पनि नगद रु तीन हजारसहित सम्मान गरीएको छ ।