03/31/2025, 04:23:30

नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न


जानकी (बाँके), ९ चैतः नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । बाँकेको राँझास्थित श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकको आयोजनामा आज ‘नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०८१’ सम्पन्न भएको हो । भूपू सैनिक सम्मेलनलाई नेपाली सेनाका उपरथी दीपककुमार बानियाले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा अशक्त सैनिक, भूपू सैनिक तथा उनीहरुका परिवारका अशक्त सदस्यलाई ह्विल चेयर, वैशाखी, ‘व्लाइन्ड स्टिक’, ‘एल्बो क्रचेज’लगायतका सहायक सामग्री प्रदान गरिएको थियो ।

उपरथी बानियाले विभिन्न १३ जना अशक्त सैनिक तथा सैनिकका परिवारलाई सहायक सामग्री प्रदान गर्नुभयो । उहाँले सम्मेलनमा सहभागी भूपू सैनिक तथा एकल महिलासँग सामूहिक छलफल तथा अन्तरक्रियासमेत गर्नुभयो ।

उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतमा पनि आजै भूपू सैनिक सम्मेलन गरिएको थियो । सो सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले उद्घाटन गर्नुभएको सेनाले जनाएको छ । प्रधान सेनापति सिग्देलले सुर्खेतमा गरेको सम्बोधनलाई प्रत्यक्ष ‘अडियो’मार्फत् नेपालगन्ज सम्मेलनमा सुनाइएको थियो । सम्मेलनले पूर्वसैनिकबीच भेटघाट तथा पुनःमिलन गराउने अवसर प्राप्त हुने, सेनाको सङ्गठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि हुने बताइएको छ ।

बहालवाला तथा भूतपूर्वबीच सम्बन्ध प्रगाढ तुल्याउन, देश र संस्थाप्रतिको आस्था भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा सम्मलेन हुँदै आएको सेनाले जनाएको छ । कार्यक्रममा श्री नम्बर चार बाहिनी अड्डा इमामनगर ब्यारेक राँझाका बाहिनीपति सहायक रथी रोशन शमसेर राणा, प्रमुख सेनानी दिपक गुरुङ, बज्रदल गणका गणपति रविन श्रेष्ठ, रणबम गणका गणपति प्रवीन थापालगायतका उच्च सैनिक अधिकृतको सहभागिता थियो ।

कार्यक्रममा नेपाली सेनाको बाहिनी तथा विभिन्न गणका सैनिकले विभिन्न भाषाभाषी तथा जातजातिका संस्कृति झल्कने गीतमा सांस्कृतिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । हरेक तीन वर्षमा एकपटक भूपू सैनिक सम्मेलन आयोजना हुँदै आएको सेनाले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ