सोमबार, फागुन २६, २०८१

हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘प्रतीक चिह्न’ सार्वजनिक


खोटाङ, २६ फागुनः हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।

नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लोगो सार्वजनिक गर्नुभएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । पूर्वअर्थमन्त्री डा महतसँगै सांसद सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईलगायतले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा सङ्कलन भएका सात लोगोमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाउनुभएको लोगो उत्कृष्टमा छनोट भएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन् ।

हलेसी तुवाचुङ –७ महादेवस्थानमा रहेको हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरुको आस्थाको केन्द्र त्रिधार्मिकस्थल हलेसीलगायत ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेका क्षेत्र समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि जिल्ला समन्वय समिति खोटाङले आफ्नो जिल्लाको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याएको थियो । जिल्लाका अन्य स्थानीय तहले अहिलेसम्म आफ्नो छुट्टै लोगो प्रयोग गरेका छैनन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ