तानसेन (पाल्पा), २५ फागुनः जिल्लाका दुई स्थानीय सरकारले महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा र सीप सिकाउँदै आएका छन् । यहाँका रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाले महिलालाई स्वास्थ्य र कानुनी रुपमा ज्ञान प्रदान गर्नुका साथै आयआर्जनसँग जोड्न सीप सिकाउन थालेका हुन् ।
रामपुरले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको छ । महिला दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेसा र व्यवसायमा सक्रिय श्रमिक महिलालाई परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको हो । नगरपालिकाले अगामी दिनमा पनि परामर्श र शिक्षा दिँदै जाने बताएको छ ।
नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अधिकांश महिलामा स्वास्थ्य सचेतना र कानुनी ज्ञान नहुँदा शारीरिक तथा मानसिक रुपमा समस्या भोग्नुपरेकाले उनीहरुलाई स्वास्थ्य परामर्शसँगै कानुनी शिक्षा प्रदान गरिएको बताउनुभयो ।
उहाँले व्यवस्था परिवर्तन भए पनि अवस्था कस्तो छ भन्ने विषयमा महिला अनविज्ञ रहेको भन्दै उनीहरुलाई जानकारी गराउनु अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । उपप्रमुख थापाले महिला श्रमिकका समस्याका विषयमा नगर सरकार गम्भीर रहेको बताउनुभयो ।
यस्तै रैनादेवीले ५० महिलालाई आयआर्जनमा जोड्ने गरी सीप सिकाउने भएको छ । गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले विपन्न र असहाय महिलालाई निःशुल्क सिलाइकटाइको सीप सिकाइ आयआर्जनमा जोड्ने बताउनुभयो । उहाँले पालिकाभित्रका महिलालाई सिलाइकटाइ तालिम दिन थालिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिलो चरणमा ५० महिलालाई सिलाइकटाइसम्बन्धी तालिम दिन्छौँ, पछि आवश्यकताअनुसार दिँदै जानेछौँ ।” अध्यक्ष भट्टराईले महिलालाई उनीहरुको क्षमता, सीपअनुसारको काममा सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पालिकाभित्रका महिलाले केही न केही सीप सिकेर आयआर्जन गर्नसके सीपले जीवनस्तरमा सुधार ल्याउने र सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।