काठमाडौँ, २४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एक सय १५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै महिलाको सम्बन्धमा संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरूपमा समेत अधिकारप्राप्तिका लागि अघि बढ्न आह्वान गर्नुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभएको छ, “हाम्रो पार्टी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने बाटोमा अघि बढिरहेको छ, हामी यतिबेला जनतासँग माओवादी, तराई मधेस जागरण अभियानमा छौँ, यो अभियानले महिलालगायत आम उत्पीडित वर्ग र समुदायका संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न थप जागरूक, सङ्गठित र आन्दोलित गर्ने हाम्रो विश्वास छ ।”
राजनीतिक अधिकारप्राप्त भए पनि आर्थिकरूपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिलामुक्ति सम्भव नहुने उहाँको भनाइ छ । उहाँले यो दिवसले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र सङ्गठितरूपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“समता, स्वतन्त्रता र उत्पीडनबाट मुक्तिको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको सम्मानस्वरूप प्रत्येक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, अध्यक्ष दाहालले भन्नुभएको छ ।
साचो अर्थमा महिलाहरूको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसङ्ख्याका आधारमा प्रतिनिधित्व तथा स्रोत र साधनमा समेत उनीहरूको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव उल्लेख गर्दै उहाँले त्यही मान्यताका आधारमा नेपालमा समेत महिलाले आन्दोलन गर्दै आएको र ऐतिहासिक सङ्घर्षको जगमा निर्मित संविधानले महिला अधिकारलाई सुनिश्चित गर्दै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा समानुपातिक प्रतिनिधित्व स्थापित गरेको बताउनुभयो ।
यद्यपि व्यवहारतः महिलामाथिको हिंसा, विभेद, दमन अझै अन्त्य हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, “८ मार्च समानताको अधिकारका लागि सङ्घर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन हो । यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरूषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको छ ।”