आइतबार, फागुन २५, २०८१

गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन


ढोरपाटन (बागलुङ), २४ फागुन : बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास विभागबाट विनियोजित रू ५० लाखको लगानीमा तटबन्धन गर्न थालिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । नदी कटान रोक्नका लागि चालु आर्थिक वर्षमा गलकोट नगरपालिका–१, ३, ६ र ११ का बस्ती संरक्षण गर्न थालिएको उहाँको भनाइ छ ।

तटबन्धनको लागि उपभोक्ता समितिमार्फत काम तीव्र गतिमा भइरहेको भण्डारीले बताउनुभयो । हिउँदमा पानीको बहाव कम हुँदा जोखिम नभए पनि बर्खामा खोला बढेर बस्तीमा पस्ने समस्या भएपछि तटबन्धन गर्न ताथिएको उहाँ बताउनुहुन्छ । गलकोट नगरको बजार क्षेत्र नदी किनारमा रहेको हुँदा कटान हुने जोखिम रहेको भण्डारीको भनाइ छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “गलकोट क्षेत्रमा धेरै खोलानाला छन्, यी खोलाहरूले बर्खामा बस्तीनै जोखिममा पार्ने गरेका छन्, नगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमा कटान रोक्नका लागि तटबन्धन गर्दै आएका छौँ, यस वर्ष पनि पचास लाखको लगानीमा तटबन्धनको काम धमाधम भइरहेको छ, तटबन्धनले बस्ती संरक्षण हुनेछ ।

अहिले गलकोट नगरपालिका–३ मा ३५ मिटर, वडा नम्बर ४ मा २७ मिटर, वडा नम्वर ६ मा ५६ मिटर, वडा नम्वर ११ मा ४४ मिटर तटबन्धन निर्माण भइरहेको तटबन्धन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । खोलाको उच्च जोखिम भएको ठाउँलाई प्राथमिकता दिएर तटबन्धनको काम गरिरहेको उहाँको भनाइ छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ