काठमाडौँ, १३ फागुनः फिल्म ‘लाज शरणम्’ ले घरेलु बक्सअफिसमा उत्साहजनक ओपनिङ गर्ने संकेत देखिएको छ । बुकिङ खुलेदेखि मंगलबार बेलुका ५ बजेसम्म फिल्मको १५ लाख रुपैयाँ बराबरको ‘एड्भान्स टिकट बिक्री’ भएको देखिएको छ । चलचित्र विकास बोर्डको बक्सअफिस स्रोतका अनुसार फिल्मले उक्त मूल्य बराबरको अग्रिम टिकट बिक्री गरेको हो । ‘यो सुपरहिट हुने संकेत हो’ स्रोतले भन्यो ।
जेपीटी क्रिएसनले निर्माण गरेको कमेडी सोसल ड्रामा शिवरात्री पर्वको अवसरमा बुधबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । १८० शोसहित फिल्म रिलिज हुन लागेको हो । बुकिङ ट्रेन्ड देखेर केही हलले शो संख्या वृद्धि गरेकाले शो संख्या करिब २०० हाराहारीमा पुगेको अनुमान गर्न सकिन्छ ।
कूल शो संख्यामध्ये झण्डै आधा सोल्डआउट हुने देखिएको छ । लोकप्रिय हास्य टिभी शो ‘सक्किगो नि’ ले निर्माण गरेको यो फिल्म दर्शकमाझ प्रतीक्षित छ । बुधबार नै अरु दुई नेपाली फिल्म ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ पनि प्रदर्शन तयारीमा छन् ।
७० लाख देखि १ करोडसम्मको ओपनिङ प्रक्षेपण
‘लाज शरणम्’ ले बुधबार घरेलु बक्सअफिसमा ७० लाखदेखि १ करोड रुपैयाँसम्मको ओपनिङ गर्ने प्रक्षेपण देखिएको छ । यद्यपि, यो संख्यामा थपघट हुनसक्ने सम्भावना पनि छ ।
अग्रिम टिकट बिक्रीको ट्रेन्ड, अकुपेन्सी, हाइप र अन्य फिल्मको पर्फमेन्स र शो बाँडफाँट हेर्दा ‘लाज शरणम्’ ले यो अनुपातमा कमाइ गर्न सक्ने अनुमान गरिएको छ ।