महोत्तरी, १३ फागुनः महाशिवरात्रि मेला मधेशमा रमाइलो र विपन्न वर्गलाई सानोतिनो व्यापारबाट आर्जन गर्ने अवसर पनि हो । यहाँ आपसी भेटघाटका लागि केही दिन पहिले नै साथीभाइ इष्टमित्रबीच ‘महाशिवरात्रि मेलामा भेटौला’ भन्ने सूचना आदानप्रदान भइराखेका हुन्छन् । झन् किशोर, वयस्कका लागि त मेला रमाइलो गर्ने थलो नै बन्छ ।
यस पर्वमा विपन्न परिवारका बालबालिकाले पनि पूजा सामग्रीबाट नगद आर्जन गर्छन् । यसैले महाशिवरात्रि बालबालिकाका लागि पर्खाइको पर्व बन्ने गरेको छ । भङ्गाहा—४ पलारकी १३ वर्षीया कौशिला बाँतरले बुधबार महाशिवरात्रि पर्वको मेलामा आफ्नो बस्ती नजिकको श्री सिद्धनाथ महादेव मन्दिरअघि पूजा सामग्री बेच्न आवश्यक तयारी गरिसक्नुभएको छ । बेलपत्र, धतुराको पूmल र पात एवं भाङ्का पात खोजेर ढाकीभरेकी कौशिलाको भोलि आफ्नो मेलाखर्च र आउने होली पर्वको रङ् र मिठाइ खाने रकम यिनै पूजा सामग्री बेचेर जोहो गर्ने योजना छ ।
“अपने गाम नजदिकके वनझरमें बेलके गाछ, भाङ् आ धतुर भेटगेलै” कौशिलाले भनिन् , “पाइ दक थोरबे लेव परल, जे आम्दनी होयत सब चोखे ।” (आफ्नै बस्ती नजिकको झाडीमा बेलका रुख, भाङ् र धतुराका बोट भेटिए । पैसामा किनेर ल्याउनु परेको हैन, यसबाट जे आम्दानी हुन्छ, सबै आफ्नै)
कौशिलासँगै उहाँका पाँच जना साथीले पनि मेलामा बेच्न सामग्रीको जोहो गरिसकेका छन् । उर्मिला पजियारले भनिन्, “काइल त मुर्गेडाकमें मन्दिर चैलजेबै ।” (भोलि त बिहान कुखुरा बासेसँगै मन्दिर पुगिन्छ) । उर्मिलाले पछिल्ला तीन वर्षयता लगातार यसरी नै पूजा सामग्री बेचर आठ/दश हजारको जोहो गरेको सुनाउनुभयो ।
भङ्गाहा–५ को श्री सिद्धनाथजस्तै बर्दिबास–५ स्थित श्री टुटेश्वरनाथ, सोनमा–७ को मगरथानास्थित मङ्गलनाथ, जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ मन्दिर अगाडि पूजा सामग्री बेच्न वरपरका किशोरकिशोरीले आज नै सरजाम तयार गरेका छन् । “हाम्रो त गाउँ छेउमै वन छ, बेलपत्र, भाङ् र धतुरो जति पनि पाइन्छ”, बर्दिबास–५ टुटेश्वरकी १५ वर्षीया रेविया सदाले भने, “भोलि त आजको मध्यरातपछि नै भक्तजनको लाम लाग्छ, हामी राति नै मन्दिर पुग्छौँ ।”
महाशिवरात्रि पर्वमा बेलपत्र, भाङ्का पात, धतुरोको पूmल र पातीजस्ता सामग्री भगवान शङ्करको पूजाआराधनाका लागि विशेष सामग्री मानिन्छन् । यी सामग्री यहाँका गाउँघर र बस्ती वरपर सहजै पाइने गरेका छन् । कुनै लगानीबिना यी सामानको जोहो गर्न सकिने र मेलामा प्रसस्त बिक्री हुने भएकाले यो पर्व आर्जनको अवसर बन्ने गरेको छ ।
महाशिवरात्रिमा शिवजीलाई भाण्टाको भार (बाँसको कप्टेरोमा दुईतिर एक/एकवटा भाण्टा उनीएको) चढाउने मैथिल चलन छ । भाण्टा र कप्टेरामा केही मूल्य पर्ने भए पनि अहिले थोरै मूल्यमा किनेको भाण्टाबाट भार बनाइ बेचेर राम्रै नाफा हुने गरेको छ । यसबाहेक भाण्टा खेती गर्ने किसानले पनि आम्दानी गर्ने गरेका छन् । “भाण्टा बजारमा १० रुपैयाँ किलोमा पनि बिक्दैन, एक किलो भाण्टामा चार/पाँचवटा भार बनिहाल्छन्, प्रति भार रु २०/२५ मा बेचिन्छ”, बर्दिबास–९ का भोला महतो भन्नुहुन्छ, “यसले खेतीको लागतमा केही राहत मिल्ने आस छ ।”
मेलाका लागि बालबालिका र व्यवसायी मात्रै होइन अन्य युवा तथा वयस्क नागरिक पनि भक्ति र जमघटका लागि महाशिवरात्रि मेला सम्झिराखेका हुन्छन् । महाशिवरात्रिलगत्तै मिथिलाको महापर्व ‘होली’ को पक्ष सुरु हुनेहुँदा यहाँ यी पर्व रमाइलाका लागि सम्झनामा रहने बर्दिबास–२ का सीताराम तिमल्सिनाको भनाइ छ ।
महाशिवरात्रि पर्व एक दिनमात्र बाँकी छँदा यहाँका शिवालय रङ्रोगन गरेर चम्काइएका छन् । जताततै शिव भजन गुञ्जिरहेका छन् । महाशिरात्रिमा यहाँ मेला (जात्रा)लाग्ने परम्परा रहेकाले सबैजसो रमाइलो र पूजाअर्चनाका लागि तयारी अवस्थामा छन् ।